पर्यटनमा कोरोना कहर

    १८ माघ, २०७८



कोरोनाले पर्यटन व्यवसाय करिब ८० देखि ९० प्रतिशतका हाराहारीमा खुम्चियो। सन् २०२१ नेपाली पर्यटनका लागि सबैभन्दा ‘खराब वर्ष’को रूपमा रह्यो।


नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको तथ्यांक अध्यागमन विभागले राख्ने गर्छ। अध्यागमन विभागबाट प्राप्त तथ्यांकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल पर्यटन बोर्डले समयोचित विश्लेषण गरी जनसमक्ष प्रस्तुत गर्ने चलन छ। अझ तथ्यांक विश्लेषणको ठोस काम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नै हुने गर्छ। हरेक वर्ष विशेष पर्यटन तथ्यांक पुस्तक (टुरिजम स्टाटिस्टिक्स बुक) प्रकाशन गर्ने चलन पनि छ। पर्यटनमा जानकारी राख्न चाहने र सोधखोज गर्न चाहने व्यक्ति तथा संस्थाहरूका लागि ‘टुरिजम स्टाटिस्टिक्स बुक’ले ठूलो सहयोग पुर्‍याउने गरेको छ। नेपालमा सन् १९६४ देखिको पर्यटकीय तथ्यांक यस पुस्तकबाट जो–कोहीले सहजै प्राप्त गर्न सक्छन्।

सन् १९६४ मा नेपालमा कुल विदेशी पर्यटक आगमन संख्या जम्मा ९ हजार ५ सय थियो। सो संख्या बढेर सन् १९९९ मा ४ लाख ९२ हजार पुगेको थियो। विविध समस्या र घट्ने–बढ्ने प्रवृत्तिगत समस्याबीच सो संख्या सन् २०१९ मा आइपुग्दा ११ लाख ९७ हजार पुगेको थियो। सन् २०१९ पर्यटक आगमनका दृष्टिले नेपाली पर्यटनको अहिलेसम्मकै ‘स्वर्ण वर्ष’ हो भन्न सकिन्छ। सन् २०१९ को पर्यटन तथ्यांकले हामी निकै उत्साहित बन्दै थियौं। सन् २०२० मा २० लाख पर्यटक पुर्‍याउने अभियानका साथ सन् २०१८ र २०१९ मा पर्यटन प्रवद्र्धनका क्रियाकलापहरूले तीव्रता पनि पाएका थिए। ‘नेपाल भ्रमण वर्ष’ सफल पार्न एक विशेष सचिवालय नै बनेर काम गरिरहेको थियो। सन् २०२० को पहिलो महिनामा नै नेपाल सरकारले काठमाडौंको दशरथ रंगशालामा विशेष कार्यक्रम गरेर नेपाल भ्रमण वर्षको भव्य उद्घाटनसमेत गरेको थियो।

तर सन् २०१९ को डिसेम्बर महिनाको अन्तिम हप्तादेखि चीनको उहान सहरबाट फैलिएको नोभेल कोरोना भाइरस (कोभिड—१९) को विश्वव्यापी संक्रमणले गर्दा विश्वभर नै मानिसका भ्रमणहरू रोकिए। मानिसको सट्टामा कोरोनाका अनेक ‘भेरिएन्ट’ले मात्र विश्व चहार्न थाले। कोरोनाको आक्रामकबाट विश्व अनपेक्षित रूपले आक्रान्त बन्यो। अनेक लहर र ‘भेरिएन्ट’ हुँदै विश्व परिक्रमा गरेको ‘प्यान्डेमिक’ कोरोनाले सन् २०२० र २०२१ लाई विविध दृष्टिकोणले तहसनहस नै बनाएर छाड्यो। विश्वभर करिब ५६ लाख मानिसले प्राण त्याग गरे। नेपालमा पनि करिब ११ हजार ७ सय जनाले कोरोनाकै कारण ज्यान गुमाउन पुगे। अहिले पनि कोरोनाबाट संक्रमित भई दैनिक चार–पाँच जनाको ज्यान जाने गरेको छ। अझै बढ्ने पो हो कि भनेर थप चिन्तित पनि बन्दैछौं। विश्वका कतिपय देशलाई हेर्ने हो भने, ती देश अझै पनि बेस्सरी आक्रान्त छन्। ‘ओमिक्रोन’को पछिल्लो नयाँ भेरिएन्टले फेरि एक पटक सातो उडाउँदै छ। त्रासको तेस्रो/चौथो लहर ल्याउँदैछ। हामी जोगिनका लागि हरतरहले प्रयास भने गर्दैछौं। जसोतसो आफ्नो दैनिकीलाई नियमिततातर्फ भने ल्याउँदैछौं।

कोरोनाका कारण नेपाली पर्यटनले असाध्यै मार खायो। धेरै पर्यटन व्यवसायी पलायन भए। धेरै जना बेरोजगार र आयहीन भए। कतिको गास–बास नै नरहने अवस्था पनि आयो। जीवनको आधार जसले पर्यटन व्यवसाय र रोजगारीलाई बनाएका थिए तिनका लागि यति ठूलो पीडा पहिले कहिल्यै पनि आएको थिएन। पर्यटन व्यवसाय करिब ८० देखि ९० प्रतिशतका हिसाबले खुम्चियो। विगतमा पर्यटनलाई अनपेक्षित ढंगले मार खुवाएका सार्स रोग, सरकार–माओवादी द्वन्द्व, सुनामी विपद्, सन् २००८ को विश्वव्यापी आर्थिक मन्दी, २०७२ सालको महाभूकम्पजस्ता पीडामय र प्रकोपित समयमा पनि सन् २०२० र २०२१ को जस्तो खराब हालत भोग्नु परेको थिएन। अझ सन् २०२१ नेपाली पर्यटनका लागि सबैभन्दा ‘खराब वर्ष’को रूपमा देखा पर्‍यो। नेपाल पर्यटन बोर्डले सन् २०२२ जनवरीको पहिलो हप्ता प्रकाशमा ल्याएको तथ्यांकअनुसार सन् २०२१ मा जम्मा १ लाख ५० हजारमात्र विदेशी पर्यटक आएछन्। यो तथ्यांक प्राप्त हुनासाथ मैले एकपटक विगत ५७ वर्षका तथ्यांक केलाउन पुगें। विगतमा तथ्यांकहरूसँग दाँज्दा सन् २०२१ को तथ्यांक त सन् १९७८ को हाराहारीमा पो रहेछ ! सो वर्ष नेपालमा १ लाख ५६ हजार पर्यटक आएका रहेछन्। हामीले बल्लबल्ल पुर्‍याएको सन् २०१९ को ११ लाख ९७ हजार विदेशी पर्यटक आगमनको तथ्यांक भेट्न अब कति वर्ष लाग्ला ? सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउन पाएको भए २० लाख पर्यटक आउँथे कि भन्ने अड्कलबाजी पनि आफ्नै ठाउँमा छ। त्यसो भए अब २० लाख पर्यटक पुर्‍याउन झन् कति वर्ष लाग्ला त ? यी प्रश्न जोकोहीले उठाउन सक्ने प्रश्न हुन्। तर उत्तर र अड्कलबाजीमा भने अनेकता आउन सक्छ।

कोरोनाका कारण नेपाली पर्यटनले असाध्यै मार खायो। धेरै पर्यटन व्यवसायी पलायन भए। धेरै जना बेरोजगार र आयहीन भए।

केही विज्ञहरूसँग कुरा गर्दा हामी सन् २०१९ को तहमा अर्थात् करिब १२ लाख पर्यटक भित्र्याउने तहमा पुग्न अबको कम्तीमा पाँच–सात वर्ष लाग्छ। कतिपय विज्ञ भन्छन्, कोरोनाको भय हट्ने भयो र विश्व पूर्णरूपले ‘खोपित’ भयो भने कोरोनाको भय कत्ति पनि हुने छैन र पर्यटन उर्लन धेरै समय लाग्ने छैन। ‘विश्वभरका मानिस बाहिर निस्कन आतुर छन्, देशविदेश घुम्न आतुर छन्, त्यसो हुँदा दुई–तीन वर्षमा नै पर्यटनले पुरानै स्वरूप लिने अवस्था आउन सक्छ’ भनेर केही पर्यटनकर्मीले उल्लेख गर्ने गरेका छन्। जे होस् विचार, तर्क र अनुमान आआफ्नै भए पनि एउटा यथार्थ के हो भने विश्वभर पर्यटनका लागि बाहिर निस्कने क्रम पछिल्लो समयमा ह्वात्तै बढेको छ। अलिकति समयले साथ दिनासाथ कमसेकम एक, दुई रातका लागि भए पनि ‘पर्यटक’ भई बाहिर बिताउने नयाँ प्रवृत्तिले प्रश्रयता पाउन थालेको छ। मंसिर र पुस महिनाका केही हप्ता नेपाली आन्तरिक पर्यटनमा बढेको चहलपहलले पनि त्यो कुराको पुष्टि गर्दछ। सौराहा, पोखरा, नगरकोट, धुलिखेल, इलाम, श्रीअन्तु, भेडेटार, कालिञ्चोक, बन्दीपुर, लमजुङ, मुस्ताङ, रारा आदि ठाउँमा देखिएको आन्तरिक तथा बाह्य पर्यटकको घुइँचोले पर्यटनलाई चलायमान बनाउन भरथेग गरेबाट पर्यटन व्यवसायी उत्साह बन्ने र नेपालको पर्यटन पुरानै अवस्थामा फर्कन थाल्यो भन्ने सन्देश सशक्त ढंगले विश्वभर पुर्‍याउन सकियो भने पहिलेको तुलनामा पर्यटन उत्थान गर्न धेरै समय लाग्ने छैन।

देशमा पर्यटकीय पूर्वाधार यही दुई, तीन वर्षमा निकै बढेको छ। पर्यटनमा संलग्न हुन सक्ने दक्ष जनशक्ति पनि बढेको छ। नेपालको विश्व पर्यटकीय छवि (इमेज) पनि बर्सेनि थप प्रचार भइरहेको अवस्था छ। विश्वका विभिन्न संस्थाले ‘जिन्दगीमा एकपटक पुग्नैपर्ने पर्यटकीय मुलुक’ को उच्च सूचीमा नेपाल र नेपालभित्रका विभिन्न गन्तव्यको नाम लिइरहने कारण पनि नेपाल भ्रमणप्रति रुचि जागेका विश्व पर्यटक धेरै बढेका छन्। एक तथ्यांकअनुसार, सन् २०२० को अन्त्यसम्ममा नेपालमा तारे होटलको संख्या १ सय ४२, गैरतारे पर्यटकीय होटलको संख्या १ हजार १ सय ७१, कुल बेड संख्या करिब ४६ हजार, ट्राभल एजेन्सीको संख्या ३ हजार ७ सय ४३, ट्रेकिङ एजेन्सीको संख्या २ हजार ७ सय ९७, टुरिस्ट गाइडको संख्या ४ हजार २ सय ४१ र ट्रेकिङ गाइडको संख्या १७ हजार ७ सय ६६ पुगेको छ। यो समग्र क्षमता बढोत्तरीले हामी २५ लाख पर्यटकका लागि पनि तयार छौं भन्ने आभास दिन्छ। अझ देशैभर करिब तीन हजार होमस्टे बेड पनि तयार भएका छन्, जसले नेपाली ग्रामीण सांस्कृतिक पर्यटनको अतुुलनीय स्वाद चखाउन सक्छन्।

निष्कर्षमा, समग्र अवस्था, परिवेश र परिदृश्य केलाउँदा सन् २०२२ को मध्यपछि पर्यटनले राम्रो गति समात्ने अपेक्षा गर्न सकिन्छ। अहिलेदेखि नै खुब सचेत भई ‘ओमिक्रोन’ संक्रमण लहरबाट नेपाललाई बचाउन सकियो भने यसले पनि एउटा गतिलो सन्देश दिनेछ। र, अबको तीनदेखि चार वर्षमा पहिलेको अवस्था (सन् २०१९ को तह) मा फर्केर त्यसपछिको चारदेखि पाँच वर्षमा हामीले २५ लाख विदेशी पर्यटक भित्र्याउने सपना देख्नु अन्यथा ठहर्ने छैन। सन् २०३०, अर्थात् अबको आठ वर्षमा विश्वव्यापी ‘दिगो विकास लक्ष्य’को अन्तिम वर्ष हो। त्यतिबेलासम्म नेपालले धेरै प्रगति गरिसकेको हुनेछ।

author-image

 

चेतनाथ कणेल ‘हरित’



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन