समाजवादको नाराले दुःख पाए साराले !

    १८ माघ, २०७८



समाजवाद अङ्ग्रेजी शब्द सोसिलिज्मबाट आएको हो । यसको शाब्दिक अर्थ साझा भन्ने हुन्छ । १७औं शताब्दीको मध्यतिर फ्रान्सेली चिन्तक सेन्ट साइमन, चार्ल्स फुरिय र ब्रिटिश चिन्तक रबर्ट ‍ओवेनले समाजवादी अवधारणाको प्रतिपादन गरेका थिए । यसको सार निजी स्वामित्व र प्रतिस्पर्धाको सट्टा पारस्परिक सहयोग र सामूहिक स्वामित्वमा आधारित व्यवस्था हो । १९औं शताब्दीको मध्यतिर आइपुग्दा फ्रान्स, जर्मन, इङ्ग्ल्याण्ड जस्ता युरोपियन देशहरूमा समाजवादी विचारधाराले व्यापक लोकप्रियता हासिल गर्‍यो ।

समाजवादी लहरको यही पृष्ठभूमिबाट मार्क्स र एंगेल्सले वैज्ञानिक समाजवादी विचार सन् १८४८ मा प्रकाशित कम्युनिष्ट पार्टीको घोषणापत्र अगाडि सारे । उनीहरूले सेन्ट साइमन, चार्ल्स फुरिय र रोबट ओवेनको समाजवादी दृष्टिकोणलाई काल्पनिक समाजवाद भनी घोषणा गरे 

मार्क्स र एंगेल्सद्वारा प्रतिपादित दर्शनशास्त्र, अर्थशास्त्र र समाजशास्त्र सम्बन्धी अवधारणा र यस अन्तर्गत रहेका द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी सिद्धान्त, अतिरिक्त मूल्यको सिद्धान्त र वर्गीय अधिनायकत्वको सिद्धान्तको कुल योगलाई समाजवाद वा मार्क्सवाद भनिन्छ।

अर्थशास्त्री डेबिड रिकार्डो, द्वन्द्ववादी हेगेल र भौतिकवादी लुडविग फायरवाखलाई मार्क्सले आफ्ना गुरुको रूपमा मान्दथे भने हेगेल र फायरवाखको टाउकाले टेकेको द्वन्द्वात्मक भौतिकवादलाई मार्क्सले सुल्टाएर खुट्टाले टेकाए ।

निजी स्वामित्वको अन्त्य, उत्पादनका साधनहरूको सामूहिकीकरण, योग्यता अनुसारको काम र काम अनुसारको दाम, सर्वहारावर्गको अधिनायकत्व समाजवादका प्रमुख विशेषता हुन् । यस अर्थमा सिद्धान्त र आन्दोलनको संयोजन नै समाजवाद हो।

ल्याटिन भाषा कम्युनिसबाट फ्रान्सेली भाषा हुँदै अंग्रेजीमा कम्युनिज्म (साम्यवाद) शब्दको प्रयोग सर्वप्रथम फ्रान्सेली लेखक भिक्टर डिहुपेले सन् १७७७ मा प्रयोग गरेका थिए। मार्क्सका अनुसार समाज विकासको क्रम आदिम साम्यवादी युग, दास युग, सामन्तवादी युग, पूँजीवाद, समाजवाद र साम्यवाद हो। अर्थात् साम्यवाद समाज विकासको अन्तिम चरण हो। यसमा वर्ग र वर्गीय राज्यको विलोपीकरण भएको हुन्छ भने योग्यता अनुसारको काम र आवश्यकता अनुसारको दामको व्यवस्था गरिएको हुन्छ ।

समाजवादको सुन्दर नाराले समाजवादी क्रान्तिलाई विश्वव्यापी बनायो। क्रान्ति सफल भएका देशहरूमा कम्युनिष्ट पार्टीका सरकारहरू बने। तर ती मुलुकमा समाजवादको सुनौलो कल्पना र सपना नारामा मात्र सीमित रह्यो

समाजवादी क्रान्तिले श्रमिकहरूमा हुने शोषण, उत्पीडन, असमानता र अन्यायको अन्त्य गरी न्याय र समानतामा आधारित समाजको स्थापना हुने परिकल्पनाले विश्वव्यापी रूपमा समाजवादी क्रान्तिको लहर चल्यो। सर्वहारा श्रमजीवी वर्ग आफ्नो मुक्तिको सपना बोकेर समाजवादी क्रान्तिमा होमिए।

सर्वप्रथम सन् १९१७ मा रुसमा लेनिनको नेतृत्वमा सम्पन्न भएको अक्टोबर क्रान्तिले त्यहाँ समाजवादको स्थापना भयो । त्यस्तै सन् १९२२ मा रुसमा युक्रेन र बेलारुस मिसियर सोभियत संघ बन्यो। सन् १९२४ मा तुर्कमेनिस्तान र उज्वेकिस्तान, १९२९ मा ताजिकिस्तान, १९३६ मा काजकिस्तान, किर्गिस्तान, अर्मेनिया, अजरबैजान र जर्जिया, १९४० मा मोल्दोभा, इस्टोनिय, लाटभिया, लिथुवानिया सोभियत गणराज्यमा समाहित हुन पुगे। रुस पछि सन् १९२१ मा मंगोलियामा समाजवादी क्रान्ति सफल भयो।

खासगरी दोस्रो विश्वयुद्ध पछि युरोप र अफ्रिका महादेशमा समाजवादी क्रान्तिको लहर चल्यो। सन् १९४५ मा युगोस्लाभिया, १९४८ मा चेकोस्लोभाकिया, पूर्वी जर्मन, पोल्याण्ड, अल्बानिया, बुल्गेरिया, १९४९ मा हंगेरी, अरब देशमा यमन, अफ्रिका महादेशमा सन् १९६४ मा तान्जेनिया, १९६९ मा कङ्गो, सोमालिया, १९७२ मा बेविन, १९७५ मा अंगोला, मोजाम्विक, १९७७ मा इथियोपिया, एशियामा चीन, उत्तरकोरिया, भियतनाम, लाओस्, क्युबा आदि गरी करीब चार दर्जन देशमा समाजवादी क्रान्ति सफल भए।

क्रान्ति भनेको इतिहासको इञ्जिन हो, क्रान्ति भनेको शोषित पीडित जनताको चाड हो, विश्वका मजदूर एक होऔं भन्ने जस्ता मार्क्सका आह्वानले उत्प्रेरित भएर ती मुलुकमा शोषित पीडित सर्वहारा श्रमजीवी जनता कम्युनिष्ट पार्टीमा गोलबद्ध भई बलिदानीका साथ समाजवादी क्रान्तिलाई सफल बनाए ।

संविधानको प्रस्तावना र राज्यको निर्देशक सिद्धान्तमा उल्लिखित लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित, समाजवादप्रति प्रतिबद्ध रही, समृद्ध राष्ट्र निर्माण गर्ने र समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ भन्ने संवैधानिक प्रावधान समेत कार्यान्वयन हुने संकेत देखिएको छैन

समाजवादको सुन्दर नाराले समाजवादी क्रान्तिलाई विश्वव्यापी बनायो। क्रान्ति सफल भएका देशहरूमा कम्युनिष्ट पार्टीका सरकारहरू बने। तर ती मुलुकमा समाजवादको सुनौलो कल्पना र सपना नारामा मात्र सीमित रह्यो ।

एकदलीय कम्युनिष्ट सरकार तानाशाही बने। परिणामस्वरूप ती देशमा सर्वहारा श्रमजीवी वर्गको मुक्ति हैन, थप शोषण, अन्याय र अत्याचार बढाएकोले जनतामा नैराश्यता छायो । परिणामस्वरूप सन् १९७० देखि नब्बेको दशकसम्म आइपुग्दा सबैजसो देशमा कम्युनिष्ट शासनको पतन भयो ।

रुस, इथियोपिया, युगोस्लाभिया, चेकोस्लोभाकिया कम्युनिष्ट शासनको पतनसँगै टुक्रिए भने पूर्वी र पश्चिम जर्मनीको एकीकरण भयो। करीब चार दर्जन देशमा शासन गरेको कम्युनिष्ट पार्टीको सरकार हाल चीन, उत्तरकोरिया, क्युबा, लाओस् र भियतनाम गरी पाँच वटा देशमा सीमित हुन पुगेको छ । भारतको पश्चिम बंगालमा करीब तीन दशक शासन गरेको कम्युनिष्ट पार्टीले पछिल्लो चुनावमा लज्जास्पद हार व्यहोरेको छ ।

नेपालमा २०४८ सालमा सम्पन्न भएको आमनिर्वाचनमा प्रजातान्त्रिक समाजवादको नारा दिएर नेपाली काङ्ग्रेसले एकल बहुमत हासिल गर्‍यो । तर नवउदारवादलाई विभिन्न बहानामा सुनियोजित ढङ्गले भित्र्यायो ।

प्रजातान्त्रिक समाजवादको नारा जनता झुक्याउने घोषणापत्रमा सीमित रह्यो । संघीयताको कार्यान्वयन पश्चात भएको आमनिर्वाचमा समाजवाद र साम्यवादको आकर्षक नाराले नेकपाले झण्डै दुई तिहाइको संघीय सरकार र ६ वटा प्रदेश सरकारमा एकल बहुमत हासिल गर्‍यो ।

नेकपाको सरकार पनि नवउदारवाद र आसेपासे पूँजीवादको दलदलमा नराम्ररी फस्यो । परम्परागत कम्युनिष्ट चरित्रको विरासतबाट मुक्त हुन सकेन । आन्तरिक गुटबन्दी र कलहको कारणले पार्टी विभाजन भयो । कम्युनिष्टहरूले बाँडेको समाजवादको सुन्दर सपना पनि नारामा सीमित हुन पुग्यो ।

नेपाली सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सपना विपना बन्न सकेन । तानाशाह हिटलरको नाजीवादी पार्टीको नाम पनि राष्ट्रिय समाजवादी दल थियो । यसले जनआकर्षणको लागि पार्टीको नाममा समाजवादी जोडेको थियो ।

नेपालमा आजका मितिसम्म पनि दर्जन बढी कम्युनिष्ट नाम जोडिएका पार्टीहरू क्रियाशील छन् । आफू मात्र सच्चा कम्युनिष्ट भएको दावी गर्दछन् । तर व्यवहारमा अन्य लोकतान्त्रिक पार्टीहरू भन्दा आफूलाई फरक देखाउन सकेका छैनन् ।

संविधानको प्रस्तावना र राज्यको निर्देशक सिद्धान्तमा उल्लिखित लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित, समाजवादप्रति प्रतिबद्ध रही, समृद्ध राष्ट्र निर्माण गर्ने र समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ भन्ने संवैधानिक प्रावधान समेत कार्यान्वयन हुने संकेत देखिएको छैन ।

सिङ्गापुर, मलेसशिया, जापान जस्ता मुलुकको विकास कुनै वादले गरेको हैन, नेतृत्वको दृष्टिकोण सहितको दृढ इच्छाशक्ति, इमानदारी र दूरदर्शिताले गरेको हो । तसर्थ, समाजवाद कार्यक्रम सहित कार्यान्वयनमा आएको भए ‘समाजवादको नाराले सुख पाए साराले’ हुन सक्थ्यो तर फगत नारामा मात्र सीमित हुँदा ‘समाजवादको नाराले दुःख पाए साराले’ भन्दा शायद अत्युक्ति नहोला ।

 

केशव खतिवडा

लेखक समसामयिक विषयमा कलम चलाउँछन् ।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन