आजकालका निब्बा-निब्बीहरू!

    ९ माघ, २०७८



'हिजो एउटी बैनीको फेसबुक पोस्ट देखेँ- आई डोन्ट वान्ट टु लिभ एनिमोर, जस्ट लस्ट माई एभ्रिथिङ (मैले मेरो सबथोक गुमाएँ, अब बाँच्नै मन छैन)।

हतार-हतार के भएछ भन्दै गएर बैनीको प्रोफाइल हेर्‍या त भर्खर सातमा पो पढ्दै रे लु। हाँस्दा-हाँस्दा मुर्छा परिएन झन्डै। एकैछिनमा 'के एभ्रिथिङ गुमायौ हो बैनी? रिबन कि इरेजर?' भनेर कमेन्ट गरेको है, मलाई त ब्लक हान्दिरा यार। आजकालका निब्बा-निब्बीहरू। हाहा।'

'ल सै हो! म पनि तीन-चार निब्बा-निब्बीको ब्लकलिस्टमै छु, चिन्ता नगर्।'

'हाहाहाहा'।

क्याफेको कुनाको सिटमा मज्जाको हाँसो सुनियो।

सामाजिक सञ्जालको आफ्नै एउटा शब्दकोष छ। त्यही शब्दकोषका दुई खुब चलेका शब्द हुन् निब्बा र निब्बी।

केटा भए निब्बा। केटी भए निब्बी।

निब्बा-निब्बी केबल शब्द होइन, एउटा उमेर समूहले पाएको तक्मा हो। निब्बा-निब्बी ती टिनएजर केटाकेटीहरू हुन् जो घाँटीमा पानीको टुमलेट भिर्दाभिर्दै गलामा तिलहरी भिर्ने सपना देख्छन्। ती काँचा मान्छेहरू जो बीस वर्षको दुनियाँ नदेख्दै बिष पिउने कसम खान्छन्। चाहिनेभन्दा बढी चटक देखाउँछन्।

सामाजिक सञ्जालका बुज्झकी वयस्कहरूका अनुसार निब्बा-निब्बीको परिभाषा सालाखाला यही हो।

यो परिभाषाले टिनएजरलाई देख्छ, तर कुनै प्रधानमन्त्रीले हेलिकप्टरमा बसेर भुइँका बाढीपीडितलाई देखेजसरी। टाढाबाट। नजिक गएर उनीहरूको आँखा हेर्दैन। यसै पनि टिनएजर आँखाले जिन्दगी नै कति देखेका हुन्छन् र!

कामको नाममा स्कुल गयो, पढ्यो। न चामल, तरकारी किन्ने चटारो छ न घरभाडा तिर्ने हतारो। करिअरको तनाव छैन। आफन्तीहरू भेटैपिच्छे, 'बिहे कैले?', 'बच्चा कैले?' भन्दै दिमाग खाँदैनन्। छोराछोरी हुर्काउनु छैन, हाकिमको गाली खानु छैन। असली दुःख त यो पो हो त!

परिभाषा बनाउने वयस्कहरू यस्तै असली कि नक्कलीमा अल्झिरहन्छन्।

अनि अल्झिएर झन्झन् गाँठो पर्दै जाने टिनएजरका 'इस्यु' कता हराउँछन् कता, पत्तै हुन पाउँदैन।

फुच्ची बहिनीलाई ६ मा पढ्दा-पढ्दै प्रेम भयो। जति बुझेकी छ, त्यति नै भए पनि प्रेम भयो। भएजस्तो लाग्यो। उसलाई यो कुरा कसैलाई सुनाउन मन थियो। दिदीलाई सुनाउन मन थियो।

तर त्यही बेला २४ वर्ष पुगेर बल्ल प्रेम विवाह गरेकी दिदीले मोबाइल हेर्दै, हाँस्दै बोलेको सुनी, 'काखीको रौं पलाको हुन्न, जुँगाको रेखी बसिसक्या हुन्न, बोइफ्रेन्ड गर्लफ्रेन्ड अरे? यो उमेरमा त हामीलाई गालामा म्वाइँ खाए बच्चा जन्मिन्छझैं लाग्थ्यो। लभ-सब भन्या के हो नि था थेन। कति फुर्फुर हौ आजकालका निब्बा-निब्बीको!'

मस्किँदै दिदीलाई मन सुनाउन ढोकासम्म पुगेकी बहिनी ढोकैमा अड्किई। अब यहीँनेरबाट ऊ दिदीलाई केही भन्नै छोड्दिन्छे। प्रेम हो कि होइन बुझ्न खोजेको, दिदीलाई सुनाउँदिन। ब्रेकअप भएको दिन मर्नै मन लाग्ला, त्यो पनि सुनाउँदिन।

त्यही प्रेमीले कुनै दिन जबरजस्ती गर्न सक्छ, अप्ठ्यारो पार्न सक्छ। त्यो बेला बचाउने कोही चाहिसक्दा पनि ऊ दिदीको अगाडि अलिकति डर समेत चुहाउँदिन। किनकी दिदीले अरूको खिसी गरेको सुन्दा नै उसको मनमा बसिसकेको छ- दिदीलाई, उसका जस्ता कुराहरू 'निब्बा-निब्बीको फुर्फुर' लाग्छ। निब्बा-निब्बी हुनु भनेको लाज हुने कुरा हो।

यता दिदीलाई चाहिँ बहिनी किन केही कुरा सुनाउँदिन, घुसघुसे भई भन्ने पिर छ।

हुन त दिदीलाई थाहा भएकै कुरा हो, खिसी गर्ने मान्छेलाई खुसी सुनाइन्न। ब्लकलिस्टमा परेको भन्दै क्याफेमा हाँसेका दाइहरूलाई पनि थाहा छ, स्कुल पढ्नेले गुमाउन सक्ने 'एभ्रिथिङ' टाइ, बेल्ट, पेन, रिबन, इरेजर मात्रै होइनन्।

स्कुले राजनीति हुन्छ। सरमिसहरूले टाउकोभरिको रिस पोख्ने एकथरी समूह अनि पुल्पुल्याएर टाउकैमा बोक्ने अर्को समूह हुन्छ। कक्षाभित्रै एउटा 'बुली' झुन्ड हुन्छ जसले अलिकति मौका पाउनेबित्तिकै हेपेर, गिज्याएर स्कुल जानै मन नलाग्ने बनाइदिन्छ। जन्मेपछि आमाबाले थोपरिदिएको 'सेक्सुआलिटी' र आफ्नो मनले अँगालिरहेको 'सेक्सुआलिटी' फरक पर्न सक्छ। खुलेर 'सेक्स' उच्चारण पनि गर्न नपाउने उमेरमै यो गुथ्थी पनि सुल्झाउनु छ।

यति सब भइरहँदा मनको कुरा जस्ताको तस्तै सुनाउन सकिने कोही चाहिन्छ। तर आमाबाको त पाटो नै अलग भयो, अस्तिसम्मका टिनएजर दाइदिदीहरू नै वयस्क बन्नेबित्तिकै यो सब बिर्सिदिन्छन्। पहिलो कुरा त कुरै सुन्दैनन्। सुने पनि सुनिएको महसुस हुनेगरी सुन्दैनन्। सुनाउन मन लाग्नेगरी सुन्दैनन्।

अनि जब कसैले यी टिनएजरलाई सुन्दैन, उनीहरू पनि अरूलाई सुन्न छाडी दिन्छन्। बिस्तारै कोही घरसँग झर्किन सुरू गर्छन्। कोही पाहुनासँग तर्किन सुरू गर्छन्। र केही चाहिँ मनमा लागेको सब कुरा, फेसबुक र टिकटकको आड लिएर जानीनजानी भए पनि बोल्न थाल्छन्। कस्तो सुनिएला भन्ने धक नमानी बोल्न थाल्छन्।

तर यसरी टिनएजरले बोलेको कुरा बाहिर आइसक्दा के भइदिन्छ भने, अब ती कुराहरू 'कुरा' रहँदैनन्, कन्टेन्ट बन्छन्। ट्रोल कन्टेन्ट। अब ती केटाकेटीहरू भाइबहिनी रहँदैनन्, निब्बा-निब्बी बन्छन्। कोशिस गर्दा सिकाउन सकिने मान्छे रहँदैनन्, खिसी गर्दै हाँस्न सकिने 'मीम' बन्छन्।

भर्खरै टिनएज सकेका ताजा वयस्कहरू नै सुरूमै यी भाइबहिनीलाई 'रोस्ट' गर्न तँछाडमछाड गर्छन्।

#निब्बानिब्बीकोचटक

केही वर्षअघि मात्रै हो, आफू जल्दाबल्दा टिनएजर हुन्जेल यिनै दाइदिदीलाई आफूभन्दा ठूलासँग घनघोर चित्त दुखाई थियो। बुढाहरूले आफू हुर्केको बेलीबटम र छोराछोरीसँग हुर्किएको ग्रन्च प्यान्टको अन्तर बुझ्दैनन्। होमवर्कको तनावले थाकेको बेला, आफूले नदी तर्दै स्कुल गएको सुनाएर 'कम्पिटिसन' गर्छन्।

केही बोल्न खोज्यो, 'तिमीहरूभन्दा धेरै भोटा फटाका छौं हो केट्केटी' भन्दै यसरी हेप्छन् मानौं विचार भोटो नै हो, मान्छे जत्रो विचार पनि त्यत्रै हुनलाई!

त्यो बेला यस्ता गुनासाहरूले 'फ्रस्ट्रेटेड' यिनै दाइदिदी भन्थे, 'म ठूलो होऊँ न मात्रै, यस्तो घाँस ठूलो मान्छे त हुँदै हुँदिनँ।'

तर ठूलो भएपछि यो जोस नै घाँस चर्न गइदियो। उल्टै के भयो भने, यी दाइदिदीहरू आफू हुर्किँदै गर्दा जस्ता ठूला मान्छेसँग गुनासो गरिरहन्थे, अन्ततः थाहै नपाई आफू पनि ठ्याक्कै त्यस्तै ठूला मान्छे बन्न पुगे। पहिले आफूभन्दा वयस्कले जे जे बेठीक गरेको भन्दै कराउँथे, आफैंले ठीक ठीक त्यही नै दोहोर्‍याउन थाले।

खासमा यी वयस्कहरू गजब 'हिप्पोक्रेट' छन्। उनीहरूलाई एकातिर टिनएजर केटाकेटीका भोगाइलाई हलुका भन्दै उडाउनु पनि छ। अर्कोतिर तिनै टिनएजरलाई आफ्ना भारी भरकम सल्लाहहरू थोपर्दै ती सल्लाह मान्न लगाउनु पनि छ।

तर यदि कोही मान्छेले आफ्नो समस्यालाई समस्या समेत ठान्दैन, चुट्किला सोचेर मजाक बनाइरहेको छ भने त्यही मान्छेले सुझाएको समाधान किन सुन्नू? यदि कोही मेरो दुःखलाई दुःख समेत मानिरहेको छैन भने, मैले चाहिँ ज्ञानी हुँदै उसका अर्तीहरू किन मान्नू?

कसैको भावनाको अस्तित्व स्वीकार्नु उसलाई मनपर्दी गर्न दिनु होइन। भावना स्वीकार्नु त्यो भावना बोक्ने मान्छेको अस्तित्व स्वीकार्नु हो। कोही टिनएजरले भोग्न, देख्न बाँकी थुप्रो होला, ऊ अपरिपक्व नै होला, तर आफ्नो बुझाइमा, आफ्नो लागि, ऊ परिपक्व बाँचेको हुन्छ। 'अपरिपक्व भइस्' भनेर खिसी गर्दैमा 'ए हस् !' भन्दै झटपट परिपक्व बनिहाल्ने पनि होइन।

म आफैंलाई जीवनमा पहिलोपटक आत्महत्याको सोच टिनएजर हुँदै आएको हो। अहिले सम्झिँदा असाध्यै बेवकुफ कुरा जस्तो लाग्छ। के त्यस्तो ताइँ न तुइँको कुरामा बढी सोचेछु जस्तो लाग्छ। तर त्यो समयमा मरिदिऊँ नै जस्तो बनाउने समस्या त्यो उमेरकी मेरा लागि त संसारकै सबभन्दा ठूलो कुरा थियो होला। अहिले अलिक समय कट्यो, अलि बढी दुःख देखेँ भन्दैमा त्यो उमेरमा जे महसुस भयो त्यसको सत्य त बदलिँदैन।

दुःख बुझ्ने, सहन सक्ने क्षमता मान्छेअनुसार मात्रै फरक पर्ने होइन, उमेरको पनि आफ्नै 'पेन थ्रेसहोल्ड' हुन्छ।

मानौं एउटा खोलाअघि दुई दाजुभाइ उभिएका छन्। दाइ २० वर्ष, भाइ १० वर्ष। दुवैलाई खोला कटेर अर्को छेउ पुग्नुपर्ने छ।

अब यो बेला दाइले, 'यति जाबो पानी त हो, म त कम्मर कम्मर हुँदै तरिदिन्छु' भन्दै भाइलाई खोलामा एक्लै छोड्छ होला? अलिक अगाडि पुगेपछि भाइले, 'डुब्न लागेँ दाइ' भन्दै रूँदा, 'म त डुबेको छैन, तँ चटक नगर् निब्बा' भन्छ होला?

भन्दैन।

किनकी दाइलाई थाहा छ- पानीको सतह दाजुभाइ दुवैका लागि उही भए पनि भाइको जिउ, उसका खुट्टाहरू दाइका भन्दा साना छन्। एकै खोलाको गहिराइ पनि तर्ने मान्छेको उचाइअनुसार फरक पर्छ। एउटै पीडाको दुखाई पनि भोग्ने मान्छेको सहनशक्ति अनुसार फरक पर्छ।

अहिले टिनएजरले भोग्ने, देखाउने कति दुःख पनि त्यही दाइले सजिलै तर्न सक्ने खोलाजस्तै हुन्। यस्तो बेला अब केबल दुई विकल्प हुन्छन्।

विकल्प एक- यी टिनएजरलाई भाइबहिनी मान्ने। अनि उनीहरूको अप्ठ्यारो स्वीकार्दै हात समाएर, सुम्सुम्याएर सँगै खोलाको अर्को छेउ लैजाने।

विकल्प दुई- उनीहरूलाई निब्बा-निब्बी मान्ने। अनि 'यत्रैको खोला कटाउन नि के रोइला गरेको, अझै अर्को छेउ त्यति ठूलो नदी बाँकी छ' भन्दै बीच नदीमा हात छोडिदिने। डुब्न छोडिदिने।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन