मित्रता टिकाउने आत्मीयता

    ५ माघ, २०७८



भेटघाट र कुराकानीको बीचको खालिठाउँ भित्र दूषित वायु पस्न दिनु हुँदैन। यदि पसेको अनुभूति भए तुरुन्तै भेटघाट तथा कुराकानीबाट हटाउन सकिन्छ।

 

मित्रता र सम्बन्धको सुरुआत कुराबाटै हुन्छ र त्यसको अन्त्य कुराबाटै हुन्छ। बस फरक त्यसको प्रस्तुति, लय, ग्रहण र बुझाइमै हुन्छ। जबसम्म हामी कसैसँग दोहोरो कुरा गर्दैनौं वा भेटघाट गर्दैनौं त्यहाँ मित्रता र सम्बन्ध स्थापित हुनै सक्दैन यदि अरूले स्थापित गराइदिन्छ भने पनि त्यो सम्बन्ध टिक्दैन। बिग्रिएका सम्बन्ध बनाउने एकसाथ बसेर गर्ने भेटघाट वा कुरा नै हुन् र बनेका सम्बन्ध बिगार्ने पनि अरू कसैसँग गर्ने भेटघाट वा कुरा नै हुन्।

जब हामी समयसमयमा खाना खाँदैनौं पेटमा दूषित ग्यास भरिन्छ र त्यो ग्यास सहज होइन असहज रूपमा बाहिर निस्किएर वातावरण नै दूषित बनाउन सक्छ । यदि पेटबाट निस्कन पाएन भने आफूलाई नै असहज भई लामो समय बिरामी बनाउन सक्छ। भेटघाट र कुराहरू पनि त्यस्तै हुन्छन्। सम्बन्धभित्र समयसमयमा भेटघाट वा कुराहरू भएन भने मनभित्रै कुरा खेलेर चिन्ताले ग्रस्त बनाएर दुःखी बनाउन सक्छ, बिरामी बनाउन सक्छ  । ती भेटघाटको अभावमा कुरा बाहिर निस्किए भने असहज रूपमा निस्किन पनि सक्छन् जसले वातावरण नै दूषित बनाउन सक्छ।

मित्रतामा पनि जब हामी निरन्तर भेटघाट हुन्छौं वा फोनमै कुराकानी गर्छौं । आत्मीयता बढेको महसुस गर्छौं । चाहे धेरै लामो समयको अन्तराल किन होस् संवादबाटै ती पुराना यादहरू स्नेहहरू फर्केर आउने गर्छन् र उसप्रति सकारात्मक सोचको झन् बढेर गइरहेको अनुभूति हुन्छ । तर, हामीमा निरन्तर संवाद भेटघाट हुँदैन उसप्रति ध्यान जाँदैन र कहीँ कतै उसका नकारात्मक कुराहरू सुन्दा पनि विश्वास लाग्न सक्छ । हामीभित्र त्यो विश्वास र अविश्वासको ग्याप बसिसकेको हुन्छ। त्यसैले त्यो भेटघाट र कुराकानीको बीचको ग्यापभित्र दूषित बायु पस्न दिनु हुँदैन यदि दूषित बायु पसेको अनुभूति भए तुरुन्तै भेटघाट तथा कुराकानीबाट हटाउन सकिन्छ।

चाहे घर परिवार होस् या आपसी सम्बन्धहरू या मित्रता नै किन नहोस् परिप्रेक्ष्य रूपमा एकआपसमा गरिएका कुराकानी तथा भेटघाटका क्रममा व्यक्त गरिएका एउटै शब्द तथा भावको पनि त्यसको लय, स्वर, कुरा गर्दाको बखत गरिने आई कन्ट्याक्ट, बडिल्याङ्ग्वेज आदिले महत्वपूर्ण भूमिका खेल्न सक्छन्। ती कुराहरूले थप घनिष्टता आत्मीयता ल्याउन सक्छ कहिलेकाहीँ नकारात्मकतर्फ मोडिन पनि सक्छन्। तथापि ग्याप भएर दूषित वायु पेटमा मडारिनुभन्दा भेटघाट कुराकानीले क्षणिक असहज भए पनि भरिएको ग्यास निकालेर असहजताबीच सहजताको विकास बढ्न सक्छ ती ग्यापहरू भरिन सक्छन्।
कुराकानीको क्रममा केही उदारता भने हुनै पर्छ हरेक भावको अर्थ नकारात्मक होइन सकारात्मक रूपमा विश्लेषण गरिनु पर्छ। एकआपसका कुराहरूप्रति रिस, आवेग र अहँकार होइन प्रेमपूर्वक, धैर्य र सहनशील भएर सुन्नु पर्छ। देखिएका असमझदारीहरूलाई सहजरूपमा ग्रहण गरेर भ्रम र यथार्थलाई चिर्न सक्नु पर्छ।

अनौपचारिक रूपमा गरिने हरेक कुराकानी तथा गफगाफहरू परिस्थितिजन्य उपज हुन्छन् जुन प्रसंग र सन्दर्भका साथ जोडिएका हुन्छन्। यस्ता कुराकानी आलोचना र प्रशंसाका साथ आत्मीयतासँग जोडिएका पनि हुन्छन्। त्यसैगरी निहित स्वार्थ तथा चालबाट गरिने कुराकानी र गफगाफ नियोजित हुन्छन् रिस, राग र द्वेषले भरिएका हुन्छन्। क्षणिक उत्तेजना र नकारात्मक भावले आत्मीयता र मित्रतामा गहिरो प्रभाव पार्न सक्छन्। यथार्थभन्दा आशंका यसको प्रमुख स्रोत हुन्छ।

समाजमा मान्छेका धेरै चरित्रहरू हुन्छन्। धेरै विषयमा भेटघाट कुराकानीहरू भइरहेका हुन्छन् तर त्यसलाई कसरी ग्रहण गर्ने भन्ने मान्छेको स्वभाव र चरित्रमै भर पर्ने गर्छ। कहिलेकाहीँ सानो कुराले पनि विशाल रूप लिन सक्छ भने गम्भीर कुराहरू पनि स्वाभाविक रूपमा स्वीकार गरिएको हुन्छ। यसमा मान्छेको इगो र चरित्रले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ।

यथार्थमा मित्रता र आत्मीयताको निरन्तरता भावनात्मक भेटघाट र कुराकानी नै हो भने यथार्थता र स्विकार्यता त्यसको प्राण हो। जबसम्म यथार्थतालाई स्वीकार गरिँदैन आत्मीयता प्राणबिना छटपटीमै रहन्छ। भावनाले मात्र आत्मीयताको प्राण भर्न सकिँदैन। व्यवहार र परिस्थितिको विश्लेषणबाटै यथार्थताको पुष्टि गर्न सकिन्छ भने सकारात्मक सोच, चेत र चाहनाले व्यवहारलाई आत्मीय बनाउन सक्छ।

त्यस्तै उमेर, समय र अनुभवले मान्छेको स्वभाव परिवर्तन हुँदै जान्छ, असीमित आवश्यकता र चाहना घट्दै जान्छन्। द्वेष, रिस, राग पनि कम हुँदै जान्छ र पारिवारिक तथा समाजप्रतिको जिम्मेवारी बढदै जान्छ। जसले गर्दा मनमस्तिष्कमा रहेको धेरै कटुतालाई आत्मीयतातर्फ बढाउँदै लैजान्छ तर यसको जड तत्व भनेको भेटघाट, कुराकानी, यथार्थता स्वीकार्यता नै हुन्। 



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन