ध्यानको मर्म

    १ माघ, २०७८



ध्यान यस युगमा बहुचर्चित शब्द बनेको छ। यसका विषयमा मानिसका आआफ्ना धारणा छन्। विभिन्न धर्म सम्प्रदायले पनि आआफ्नो मान्यता, सिद्धान्त, विश्वासअनुसार ध्यानको परिभाषा गर्ने गरेका पनि छन्। ल्याटिन शब्द ध्यान बौद्धिक व्यायामभित्र रहेका विधिमध्येको एउटा विधि हो भन्नेहरू छन्। जापानीहरूका ‘झेन’ र चीनको ‘च्यान’ शब्दबाट अपभ्रंश हुँदै आएको शब्द ध्यान हो भन्ने पनि गरिन्छ। यसैगरी, वैदिक युगमा ‘ध्यान’ शब्दले हिन्दू, बौद्ध, र अन्य पूर्वीय धर्महरूको आन्तरिक स्मरणशक्ति वा चिन्तनको विभिन्न अभ्यासलाई बुझाउँथ्यो।

मानिस चेतनशील प्राणी हो र यही चेतनशील मनभित्रको कुनै एक विचार वा छविलाई मनभित्र निरन्तर स्थिर गरी सन्तुलनमा राख्ने प्रक्रिया हो ध्यान। मनमा असंख्य कल्पना तथा विचार एकसाथ चल्ने गर्छन्। हामीले सोच्न पनि नचाहेका अनेकौं कुराहरू पनि मन मस्तिष्कमा खेलिरहेका हुन्छन्। ध्यानले अनावश्यक कल्पना तथा विचारलाई मनबाट हटाएर शुद्ध तथा सकारात्मक सोचतर्फ डोर्‍याउँछ। मानव सभ्यतासँग जोडिँदै आएको ध्यानका सम्बन्धमा विभिन्न सन्त, महात्मा एवं ऋषिहरूले आआफ्नो विचार राख्दै आएको पाइन्छ।

पातञ्जल योग प्रदीपमा लेखिएको छ :– तत्र प्रत्यैकतानता ध्यानम्। अर्थात्ः जहाँ मन लगाइएको छ, त्यसै वृत्तिमा एकनासले मन लगाइरहनु ध्यान हो। यो एकाग्रता मनमा दोस्रो विचार आएर बाधित नभएसम्म ध्यान मानिन्छ। यस्तै गोरक्ष संहितामा गुरु गोरखनाथले ध्यानको यस्तो व्याख्या गर्नु भएको छ : स्मृत्यसेव सर्व चिन्तया धातुरेकः प्रपद्यते। यच्चितै निर्मला चिन्ता तद्विध्यानं यचक्षते।। द्विविधं भवति ध्यानं सकलं निष्कलं तथा। चर्याभेदेन सकलं निष्कलं निर्गुणं भवेत्।। अर्थात् ध्यान सगुण/साकार र निर्गुण/निराकार दुई प्रकारको हुन्छ। सगुण ध्यान गर्नाले अष्टसिद्घि प्राप्त हुन्छन् भने निर्गुण ध्यानबाट समाधिको अवस्था प्राप्त हुन्छ।

पतञ्जलि भन्नुहुन्छ, ‘प्रत्याहार सिद्ध गरेर नै ध्यानमा प्रवेश गर्न सकिन्छ। प्रत्याहार सिद्ध गर्नु भनेको चित्तका वृत्तिहरू पूर्णरूपले निरोध भई इन्द्रियहरू सांसारिक रसबाट मुक्त भएको अवस्था हो।’ गोरखनाथ भन्नुहुन्छ, ‘हाँस्दै खेल्दै ध्यान गर, दिन रात ब्रह्ममा विचरण गर।’ श्रीकृष्ण र अष्टाबक्र भन्नुहुन्छ, ‘निर्विषय चेतनाको अवस्थामा ध्यान घटित हुन्छ। अष्टाबक्र गीताका अनुसार विषयहरूमा जबसम्म रस रहन्छ, तबसम्म ध्यान (मुक्ति) त्यस व्यक्तिसित निरस रहन्छ।’ विषय वासना, काम, फलाकांक्षा र व्यवसायसित खेलेर ध्यानको गहनतालाई अनुभवमा ल्याउन सकिँदैन। आचार्यश्री पथिक भन्नुहुन्छ, ‘ध्यान भनेको अमनि दशा हो। स्वयं र वस्तु स्थितिप्रतिको जागरुकता हो। यो न त एकाग्रता हो, न धारणा नै। एकाग्रतामा मन एकाग्र हुन्छ भने धारणामा मन एकोहोरो हुन्छ। ध्यानमा मन हराउँछ। ध्यान स्वयं अर्थात् आफैंतिर फर्कने यात्रा हो। ध्यानमा सबै बाह्य वृत्तिहरू छुट्छन् तर जागरणको सघनता रहिरन्छ।’

ध्यान गर्ने तरिकाहरू जति नै भए पनि सबैले चित्तालाई शान्त बनाउन सहयोग गर्ने नै हुन्।
यसैगरी, योग ग्रन्थहरूमा पनि ध्यानको महिमा यसरी लेखिएको पाइन्छ : अश्वमेध सहस्त्राणी वाजपेय शतानि च। एकस्य ध्यान योगस्य तुलांनार्हन्ति षोडशिम्।। अर्थात्, हजारौं अश्वमेध यज्ञ वा सयकडौं वाजपेय यज्ञको फल ध्यान योगको सोलह भाग जति पनि हुँदैन। अर्थात्, इष्टदेवको ध्यान गर्नाले पूजा, पाठ, यज्ञ, दान, तप, गरेको भन्दा १६ गुना बढी फल प्राप्त हुन्छ। हिजोआज ध्यान केन्द्रहरू ठाउँठाउँमा खोलिएका छन्। सबैले आआफ्नै प्रचारप्रसार गर्ने क्रममा एक ध्यान केन्द्रले अर्को सम्प्रदायको ध्यान केन्द्रको विरोध गरिरहेको र आफ्नो ध्यानलाई मात्र ध्यान र अन्यको ध्यानलाई कमसल, नादान इत्यादि भन्ने गरेको पनि पाइन्छ। फरकफरक धर्म सम्प्रदायहरूले आफ्नो मान्यता, सिद्धान्त, विश्वासअनुसार फरकफरक मत, मान्यता राख्दै जाँदा सत्यको परिपूर्ण व्याख्या नहुन सक्छ। जहाँ थुप्रै मतभेदहरू सिर्जना हुन सक्छन्। कलह सिर्जना भई एकआपसमा अस्तित्वको संघर्ष सुरु हुन सक्छ।

जुन ध्यानको उद्देश्य हुँदा पनि होइन र न यो ध्यानको परिभाषाभित्रको कुनै धेय नै हो। ध्यानलाई जे जसरी अथ्र्याइए पनि आफूले आफैंलाई आफ्नो नियन्त्रणमा राखेर संयमतापूर्वक लक्ष्य प्राप्त गर्ने तरिकापूर्ण साधनालाई नै ध्यान भन्न सकिन्छ। चलनचल्तीमा मेडिटेसन भनिने ध्यानको अर्थ र महत्त्व निकै गहन छ। यसलाई अध्ययनको रूपमा ग्रहण गर्नेहरू पनि छन्। अनुभवले निखार ल्याएर सर्वत्र छाउनेहरू पनि छन्। विशुद्ध शारीरिक तथा मानसिक व्यायामको रूपमा ग्रहण गर्दा औचित्यपूर्ण हुन्छ। ध्यानलाई कुनै धर्म तथा सम्प्रदायसँग जोड्नु हुँदैन। ध्यानको अर्थ एकाग्रता मात्र पनि होइन। एकाग्रताले टर्चको स्पटलाइट सरह मात्र काम गरेको हुन्छ र एउटै ठाउँलाई मात्र उज्यालो बनाउँछ। तर ध्यान त्यो बिजुलीको बल्ब हो जसले चारै दिशामा उज्यालो फैलाउन सक्छ। जुन उज्यालोमा लक्ष्य वरिपरि रहेका राम्रा नराम्रा असल खराबलाई नियाल्न पनि सकिन्छ।

ध्यानले मानिसको मनलाई एक निश्चित स्थितिमा पुर्‍याउने अभ्यास गराउँछ र त्यो अभ्यासलाई स्वभावमा परिणत गरिदिन्छ। शारीरिक स्तरमा ध्यानको अभ्यासले नयाँ स्नायु पथहरूको विकास गरी मानसिक एवं शारीरिक स्वस्थताका साथमा सकारात्मक मनोभावमा वृद्धि गराउँछ। ध्यान गर्ने तरिका जति नै भए पनि सबैले चित्तलाई शान्त बनाउन सहयोग गर्ने नै हुन्। कल्याणकारी मनोभावहरूको विकासका लागि मानिसले आफ्ना तनावहरूको व्यवस्थापन गर्नु जरुरी हुन्छ। त्यसैले आफ्नो चित्तलाई (मन) शान्त गराउने खालको ध्यानबाट अभ्यासको सुरुआत गर्नु पर्छ। हाम्रा मन र मस्तिष्कमा उत्पन्न चेतनापूर्ण विचार र विकारहरूलार्ई सरल रूपमा व्यवस्थित गर्दै सुखानुभूति प्रदान गर्ने एउटा विधि हो ध्यान।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन