देशभक्त पृथ्वीनारायण

    २७ पौष, २०७८



जत्ति बुद्धिमत्ता पृथ्वीनारायणमा थियो, त्यो अरूमा भएन। त्यसैले पनि अरू राजाहरूभन्दा बढी ख्याति उनले कमाए। 

लाउँ लाउँ, खाउँ खाउँको जीवनको पर्वाह नगरी भर्खर २२ वर्ष पुगेका लक्का जवान पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे।  १८०१ सालमा नुवाकोटमा पहिलो आक्रमण गरेर सुरुआत गरेको एकीकरण अभियान अटुट रूपले झन्डै ३२ वर्षसम्म चल्यो। उनको एउटै सपना थियो टुक्राटुक्रामा विभाजित भएर रहेको नेपाललाई विशाल रूप दिने। त्यही एउटै सपनालाई साकार गराउने काममा लागिपरेकै परिणामस्वरूप हो कि नेपालीको शिर ठाडो हुने गरी आज सार्वभौम स्वतन्त्र राष्ट्रको रूपमा ‘नेपाल’ लाई विश्वसामु परिचित छ। यो कार्यले नेपालको गौरव बढाउने कार्यमा जुट्न सबै नेपालीलाई समान अवसर प्राप्त भएको छ। 

प्राचीनकालदेखि नै गौरवमय इतिहास रहेको नेपाललाई पुनस्र्थापना गर्न चाँडोभन्दा चाँडो नलाग्ने हो भने इष्ट इन्डिया कम्पनीको नामबाट दक्षिणमा घुसेका अंग्रेजहरूले भारतका अनेक प्रान्त र प्रदेशहरूलाई कुनै न कुनै तरहबाट आफ्नो चंगुलमा पारेजस्तै नेपाल पनि त्यसमा पथ्र्यो। यताका स–साना भुरे, टुक्रे राजा–रजौटाहरूलाई पनि उनीहरूले आफ्नो चंगुलमा पार्न बेर छैन भन्ने कुराको संकेत वरपरको भयावह वातावरण देखाएकै थियो। पृथ्वीनारायण शाहको मनमा पनि यो उब्जेको चेतनाकै कारण कसरी हुन्छ विभिन्न कालखण्डमा अनेक टुक्रामा टुक्रेको नेपाललाई एक सूत्रमा बाँध्ने काममा दिलोज्यान दिए।  उनको सम्पूर्ण उर्वर जीवन त्यही उद्देश्य प्राप्तिको लागि समर्पित गरे। आफ्ना सैनिकहरूलगायत सामान्य नागरिक एवं भाइभारदारहरूलाई त्यस महान् कार्यमा प्रवृत्त गराए।

नेपालको गौरवमय इतिहासका प्रणेता पृथ्वीनारायण शाहलाई नै बिर्सिने हो भने हामी जत्तिको कृतघ्न व्यक्ति संसारमा कोही हुने छैनौं। यसले नेपालको इतिहास मेट्न/मेटाउन षड्यन्त्र गर्ने/गराउने कार्यलाई बढावा दिन्छ। कुनै देशको इतिहासलाई मेट्न प्रेरित गर्नु भनेको उसको धर्म/संस्कृति, कला/कौशललाई मटियामेट गराउन अग्रसर हुनु हो। यो कुरा राजनीतिमा लाग्नेहरूदेखि सर्वसामान्य जोसुकैले राम्ररी बुझ्नुपर्छ।

पृथ्वीनारायण शाह पृथ्वीनारायण शाह नै हुन्। उनको तुलना कोसँग गर्ने ? उनमा अगाध देशभक्ति, अनुपम साहस, प्रगाढ संगठन क्षमता थियो।

पृथ्वी जयन्तीलाई मान्ने/नमान्ने वा बिदा दिने/नदिने विषयलाई किन हामी राजनीति गर्छौं ? इतिहासमा कतै केही उल्लेखै नपाइने विषयहरूलाई बलजफ्ती महत्त्वगान गर्न लगाइ पर्व/उत्सवको माहोल तयार गरी राष्ट्रिय बिदा दिन्छौं। जसको योगदानमा कुनै किसिमको हिच्किचाहट नै छैन, जसले साँच्चै गरेको योगदानकै फलस्वरूप आज हामीले नेपाल र नेपाली भन्न पाएका छौं, त्यस्तो मौका दिलाउने महामनाको जन्मदिनको बिदा दिने विषयमा वा पृथ्वीजयन्ती मनाउने विषयमा रनभुल्ल परेको बहाना बनाउँछौं, विवादको विषय बनाउँछौं भने कृतघ्नतालाई आत्मसात् गरिरहेका छैनौं भनेर कसले नभन्ला ?

उनलाई धेरै कारणबाट सम्झनुपर्छ। बिर्सिनै नहुने प्रमुख कारण त आजको नेपाल र नेपालीको पहिचान उनकै पौरख र योगदान हो। यसमा अल्मलिनु पर्ने कारणै छैन। तर किन पृथ्वी जयन्ती राष्ट्रिय पर्व बन्न सकेको छैन ? यो गम्भीर र सोचनीय विषय हो। पृथ्वी जयन्तीलाई देशभर विभिन्न कार्यक्रमहरूको साथ मनाएर नेपाल र नेपाली एक छौं भन्ने सन्देश दिने योभन्दा ठूलो अवसर कुन हुन सक्ला ? उनको चाहना पनि सबै नेपालीहरू मिलेर यो देशलाई सम्भार गर्नुपर्छ भन्ने नै रहेको थियो– ‘मेरा साना दुषले आर्ज्याको मुलुक होइन. सबै जातको फुलबारि हो. सबैलाई चेतना भया.यो फुलबारिको छोटा बडा चारै जात छत्तिसै बर्नले (यसलाई सम्भार गर्नुपर्दछ).

प्रामाणिक अभिलेखका आधारमा भन्न सकिने नेपालको पहिलो प्रामाणिक काल लिच्छविकाल हो। त्यसभन्दा अघिको किरातकाल, महिषपालकाल, गोपालकालको बारेमा वंशावलीमा केही न केही उल्लेख जरुर पाइन्छ। तर त्यसको भरपर्दो पुष्ट्याई अन्य अभिलेखीय प्रमाणहरूबाट हुन सकेको छैन। वंशावलीहरूले अनुमान गर्ने आधार भने दिएको छ। चिनियाँ यात्रीहरूको वर्णन, कौटिल्यको अर्थशास्त्र तथा समुन्द्र गुप्तको प्रयागस्थित शिलालेखको आधारमा लिच्छविकालको नेपालको आकार झन्डैझन्डै अहिलेको जत्रै थियो भन्ने अड्कल सजिलै लगाउन सकिन्छ। त्यसको अर्थ अहिलेकै जस्तो भूगोल र नक्सा थियो भन्ने कदापि यसको आशय होइन।

सर्वसाधारणलाई नेपालको प्राचीन क्षेत्रफल कत्रो होला भन्ने जिज्ञासा हुनु स्वाभाविक छ। अहिले पनि हामी आफूलाई ‘सानो देश, गरिब देश’ भनेर आफूले आफैंलाई लघुताभाषमा धकेल्छौं। यथार्थ त्यस्तो छैन। विश्वमा भएका अनेक राष्ट्रको तुलनामा नेपालले ओगटेको क्षेत्रफल यद्यपि ०.०३ प्रतिशत मात्र छ। त्यसो हो तापनि यसको अवस्थिति तथा यहाँ भएका प्राकृतिक विविधता एवं सांस्कृतिक महत्त्वलाई नियाल्ने हो भने कुनै अन्य ठूलो राष्ट्रभन्दा कम आँक्न मिल्ने किसिमको छैन। हो, गर्नुपर्ने अनेक कामहरू छन्। चाहेको जस्तो प्रगति गर्न अशिक्षा, अज्ञानता र राजनीतिक अस्थिरताले इतिहासको हरेक कालखण्डमा बाधा पारेको छ। तैपनि केही भौतिक प्रगति नै नगरेको भन्ने चाहिँ होइन। केही न केही हुँदै/गर्दै आजको समयसम्म आइपुगेका छौं। आ–आफ्ना कालखण्डमा सबैले विकास, निर्माण र तरक्कीका केही न केही इँटाहरू थप्दै जानाले यो अवस्थासम्म आइपुगेको हो भन्न हिच्किचाउनु पर्दैन। चतुर्दिक उन्नतिको चाहना अनगिन्ती होला तर त्यो भने मन्द गतिमा छ भन्नै पर्छ।

नेपालको राजनीतिक अवस्थाको कुरा गर्दा लिच्छविकालपछि क्रमश: देशको भूगोल टुक्रिने तथा टुक्र्याउने क्रम सुरु भयो। पछि गएर अझ यो बढ्दै गयो। विक्रमको बाह्रौं शताब्दीतिर आइपुग्दा नेपालमा तीन राज्यको प्रादुर्भाव हुन गयो। एउटा टुक्रिँदा टुक्रिँदा बाँकी भएको राज्यलाई पनि जोगाउन धौ धौ परेको नेपालको केन्द्रको राज्य, अर्को नान्यदेवले नेपालको दक्षिणपूर्व भेकमा स्थापना गरेको सिमरौनगढ राज्य, तेस्रो चाहिँ नेपालको पश्चिम भेकमा नागराजले स्थापना गरेको सिञ्जाराज्य।

केन्द्रको राज्यभन्दा कर्णाली प्रदेशको खस राज्य पूर्वपश्चिम/उत्तरदक्षिण चारैतिरको विस्तारले गर्दा सबभन्दा ठूलो राज्य बन्यो। तर उनीहरूले आफूलाई ‘नेपालका राजा’ भनी कहिल्यै भनाउन चाहेनन्; उनीहरू त्यसको विपरीत नेपालका राजालाई हामीले ‘करद’ तुल्यायौं भनी गर्व गर्दथे। सिमरौनगढका डोय राजाहरूले पनि आफूलाई ‘नेपालको राजा’ भनी कहिल्यै दाबी गर्न सकेनन्। उनीहरूले पनि नेपालका राजालाई जित्यौं भनी फूर्ति गर्न थाले। यता केन्द्रका शासकहरूले नुवाकोटपर्यन्तसम्म राज्य थाम्न सक्दा पनि गर्वको महसुस गर्न थाले। यसरी राजनैतिक दृष्टिले ‘नेपाल’ भनेको काठमाडौं खाल्डोलाई मात्र बुझाउन थालेको अवस्था थियो।

ती राज्यहरू पनि टुक्रिँदैटुक्रिँदै विक्रमको अठारौं शताब्दीसम्म आइपुग्दा झन्डै ५२ वटाभन्दा बढी राज्य हुन पुगे। यसप्रकार पृथ्वीनारायण शाहको अघिल्तिर ती ५२ वटा राज्यहरूलाई मिलाएर एउटै नेपाल बनाउनु मुख्य अभीष्ट रहेको थियो। १२ हजार घरधुरी भएको सानो गोरखा राज्यका राजाले देखेको सपना पूरा गर्नु सजिलो पटक्कै थिएन। उनको अघिल्तिर अनेक बाधा व्यवधान, अवरोध, सीमितता, समस्या, अड्चन र उल्झनहरू अनगिन्ती थिए।

पृथ्वीनारायण शाहभन्दा अगाडिको अवस्थामा सिञ्जा सबैभन्दा बलियो थियो, त्यसले गोरखासम्म राज्य गर्थ्यो। नुवाकोटमार्फत काठमाडौं खाल्डोमा पनि आएर बराबर कर उठाउने काम गथ्र्यो। आजको चीनको स्वशासित क्षेत्रभित्र पर्ने मानसरोबर पनि सिञ्जाराज्यभित्रै पर्थ्यो। उत्तराखण्डको कुमाउ/गढवाल राज्य पनि सिञ्जाभित्रै थियो। गोरखा राज्यको स्थापना वि.सं. १६१६ भदौ २५ गते लमजुङका राजकुमार द्रव्य शाहले आफ्नै पौरखले खडा गरेका हुन्। पृथ्वीनारायण शाहभन्दा अघिदेखि नै आफ्नो राज्य बढाउन धेरथोर पहल गर्ने आम चलन थियो। उनका पूर्वज पूर्ण शाहले केही राज्य बढाए, छत्र शाहले उद्योग गरेका त हुन् तर उनको शासनकाल छोटो रहन जाँदा चाहेको नतिजा पाउन सकेनन्। पृथ्वीपति शाहले पनि केही न केही प्रयास गरेकै हुन्। राम शाहले यसको लागि धेरै उद्योग गरे। पृथ्वीनारायण शाहका पिता नरभूपाल शाहले पूर्वबाट नुवाकोट जित्न र पश्चिमपट्टिबाट तनहुँ राज्य जित्न भरमग्दूर प्रयत्न गरेका हुन्। तर असफल भए। अन्ततोगत्वा लक्ष्य हासिल गर्न नसकेपछि उनी विक्षिप्तसमेत बन्न पुगे।

पुर्खाले सुरु गरेको एवं सपना देखेको कार्यलाई विश्राम नदिई पृथ्वीनारायण शाहले आफू राजगद्दीमा बस्न थालेको लगत्तै भनेजस्तो त्यसलाई फेरि अघि बढाए। यस बेलासम्म आइपुग्दा उनले पूर्ववर्ती राजाहरूले गरेको कमी/कमजोरी तथा ठूलो काम आँट्नुभन्दा अघि युद्धको लागि जोरजामल गर्नुपर्ने आवश्यकीय सामग्रीहरू र रणनीतिक व्यवस्थाको बारेमा ध्यान दिए। भाइभारदार र आफ्ना सैनिकहरूसँग लिनुपर्ने सल्लाह/सुझाव लिएर सबैको सहमतिबाट काम थाल्दै गए। आफूले गरेको कार्यहरूको समयसमयमा समीक्षा र अनुगमन पनि गर्दै गए। यसको परिणाम राम्रै भयो। राजाले गर्नुपर्ने काम गरेका छन् भन्ने सम्झेर सबैबाट उचित सहयोग पनि हुँदै रह्यो। अन्ततोगत्वा आफ्नो लक्ष्य प्राप्तिको लागि कुनै कसर बाँकी राखेनन्। हो, आयु चाहिँ बाधक बन्यो वि.सं. १८३१ माघ १ गते बाउन्नै वर्षको उमेरमा नुवाकोटको देवीघाटको किनारमा कालगतिले असमयमै उनको इहलीला समाप्त भयो। उनको यस किसिमको अकल्पित तथा असामयिक निधनले गर्दा यस क्षेत्रमा रहेका बाइसी/चौबीसी राज्यहरूलाई आफ्नै जीवनकालमा नेपाल अधिराज्यभित्र समाहित गराउने आकांक्षा सोचेजस्तो पूरा हुन पाएन।

भुरे, टाकुरे राजा र राज्यहरू भएको बखतको नेपालको अवस्था एकदमै नाजुक थियो। काठमाडौं खाल्डोका राजाहरूबीच पनि त्यस्तै अवस्था थियो। भक्तपुरको राजालाई काठमाडौं वा पाटनको राजासँग रिस उठ्यो भने बिस्केट (विस्का:) जात्रामा गएका बेला कुटेर पठाउने। काठमाडौंका राजालाई रिस उठ्यो भने पशुपतिमा सद्बीज छर्न आउँदा ठटाएर लखेटेको वंशावलीहरूमा टिपोट पाइन्छ। पाटनको राजालाई रिस उठ्दा रातो मच्छिन्द्रनाथको जात्रामा कुटपिट गरेर पठाइएको सन्दर्भलाई पछिल्लो कालका भाषा वंशावलीहरूमा टिपिएको छ।

हामीले अहिले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको अझ सुगौली सन्धिअघिको नेपालको कुरा गर्ने हो भने जे जति भोग गर्न पायौं र अहिलेसम्म पाइरहेका छौं त्यो पृथ्वीनारायण शाहकै पौरख र दूरदर्शिताले सृजना गरेको परिस्थितिको परिणाम हो भन्दा हुन्छ। अर्को शब्दमा भन्नुपर्दा उनको एकीकरण अभियानले नै यो अवसर प्रदान गरेको हो। उनले सुरु गरेको एकीकरण अभियान बीचमा छिन्नभिन्न हुन नपाउँदै बुहारी राजेन्द्रलक्ष्मी र कान्छा छोरा बहादुर शाहको दूरदर्शी नेतृत्वमा अघि बढ्दा पृथ्वीनारायण शाहको सपनाले मूर्तरूप लिन पायो।

पृथ्वीनारायण शाहले ३२ वर्ष लगाएर नुवाकोट, बेलकोट, साँगाचोक, नालदूम, महादेवपोखरी, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, साँखु, चाँगु आदि प्रदेशहरू तथा केही समयपछि पाटनअन्तर्गत रहेको लामीडाँडामाथि कब्जा जमाए। चित्लाङ, टिष्टुङ, पालुङ आदि प्रदेशको साथसाथै वि.सं. १८१२ मा सिह्रानचोकमाथि कब्जा जमाए। कालु पाँडेको नेतृत्वमा गएको फौजले फर्पिङ, कुलेखानी, इपा, माल्टा आदि प्रदेशहरू विजय गर्दै दक्षिणी सिमाना मकवानपुर राज्यसम्म पुर्‍याए। त्यसपछि कीर्तिपुरसँगको पहिलो युद्धमा अनेक कारणले गर्दा हारे तर उनी चुप लागेर बसेनन्। जयप्रकाश मल्लसँग मकवानपुर, सिन्धुलीगढी गर्दै वि.सं.१८२५/१८२६ मा काठमाडौं खाल्डोका तीनै राज्यहरूमाथि विजय प्राप्त गरे। त्यसपछि विजयपुर, चौदण्डी आदि राज्यहरू पनि नेपालभित्रै समेटिए।

त्यसअघि कुनै नेपालीका लागि त्यो सम्भव: भएन। स–साना टाकुरे र भुरे राज्यको संकुचित सीमालाई नै आफ्नो ठूलो पौरख सम्झेर अल्मलिएर बसिरहेका थिए। यो जरुर हो, पृथ्वीनारायणको सट्टा त्यो काम अरूले पनि गरेर देखाउन सक्थे। प्रयास उनीभन्दा अघि अनेकले नगरेका होइनन्। समयले पृथ्वीनारायण शाहलाई नै कुरेको रहेछ। उनको पौरख, पुरुषार्थ र जनताहरूसँग भिज्न सक्ने क्षमताले एकीकरणको विजयश्रीको माला उनले पहरिन पाए।

यस परिस्थितिमा पृथ्वीनारायण शाहको उचित सम्मान गर्न सकिन्न भने पनि उनको निन्दा गरेर समय फ्याल्नु कति जायज ठहर्ला विचार गरौं ! यसको अर्थ यो नलागोस् कि उनमा केही कमी, कमजोरी नै थिएन। बत्तीसै लक्षणले पूर्ण थिए भन्ने पनि होइन। अहिलेको जस्तो अनेक आधुनिक प्रविधि र हातहतियार, सञ्चार र भौतिक विकास नभएको अभावै अभावमा गुज्रेको अवस्थामा रहँदा पनि उनले गरेको मेहनत, पुरुषार्थ, देखाएको दूरदर्शिता र योगदानलाई कसैले घटाउन खोज्दैमा घट्न सक्ने अवस्था पटक्कै छैन। केही समय, कुनै खास परिस्थितिमा आफ्नै स्वार्थको लागि उनको योगदानलाई बिर्सन र धुमिल गर्न खोजिएला तर नेपाल र नेपाली रहुञ्जेल अवस्यै विस्मृत हुने छैन।

पृथ्वीनारायण शाहले समयमै दूरदर्शिता नदेखाएको भए जसरी व्यापार गर्न आएको इष्ट इन्डिया कम्पनीले ‘फुट गराऊ राज गर’ को सिद्धान्तलाई अँगालेर पूरै भारतलाई आफ्नो कब्जामा पार्‍यो, त्यसैगरी नेपाललाई पनि लिन्थ्यो, त्यसमा कुनै शंकै मान्नु पर्दैन। पृथ्वीनारायण शाहले अंग्रेजहरूसँग अनेक ठाउँमा निर्णायक युद्ध लड्नु पर्‍यो। त्यसमध्ये सिन्धुलीगढीको युद्ध पनि एक हो।

केही वर्षयता सिन्धुलीगढीमा विजयोत्सव मनाइन्छ। वि.सं. १८२४ असोज १५ मा सिन्धुलीगढीमा अंग्रेजहरूलाई लखेटेर आच्छु आच्छु पारी पठाइएको हो। उनले त्यतिखेरको जल्दोबल्दो अंग्रेजहरू, जो आफूलाई घाम नडुब्ने देशको रूपमा विश्वलाई पराजित गरी देखाउन चाहन्थ्यो, त्यस्तो देशको सशक्त र बलवान् सैनिकहरूलाई पराजित गरी नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रको रूपमा विश्वमाझ चिनाउने कार्यको श्रीगणेश उनैले गरेका हुन्।

त्यसअघि नेपाली भूभाग केही आर्जन गर्न सकिन्छ कि भनी मौका कुरेर बसेका बंगाली नवाव मीरकासिमलाई मकवानीहरूको निमन्त्रणाले अरू उत्साहित तुल्याएको अवस्थामा वि.सं. १८१९ माघ १० गते भएको युद्धमा पराजित भई सुइँकुच्चा ठोक्छन्। यस लडाइँको फलस्वरूप केही अत्याधुनिक हातहतियार हात लाग्छ। साथै नेपाली जाति युद्धमा कदापि कमजोर छैन भन्ने कुरा संसारले थाहा पाउँछ।

उनी नेपालको एकीकरण जति सक्दो चाँडो भएन भने त्यसमा अनेक बाधा व्यवधान आउँछ भन्नेमा संशकित थिए। त्यसैको प्रमाण हो कि केही गोर्खाली पण्डितहरूले पृथ्वीनारायणलाई ‘हजुरले मित्ताक्षरी सुन्नु पर्‍यो’  भनेछन्। मित्ताक्षरी भनेको याज्ञवल्क्य नामका ऋषिले राजाले राज्य सञ्चालन कसरी गर्नुपर्छ भनी लेखेको स्मृतिको टीका हो। उनले पहिले त सुन्ने इच्छा देखाएछन्। गोरखामा उक्त पुस्तक नपाएपछि तनहुँबाट ल्याएर भए पनि सुनाएछन्। पण्डितले उनलाई प्रारम्भिक एक/दुई पृष्ठ पढेर सुनाइसकेपछि उनले रोक भनेछन्। पण्डितले के भयो ? भनेर सोध्दा उनले भनेछन्– ‘यहाँ यसो गरे पाप लाग्छ, उसो गरे धर्म हुन्छ भनेर लेखेको रहेछ, मैले त जसरी हुन्छ अनेक कलबल र छल गरेर भए पनि राज्य जित्नु परेको छ, यो सुने भने मेरो राज्य बढाउने लक्ष्यमा विचलन आउन सक्छ, म सुन्दिनँ।’ यसबाट उनी एकीकरणको लागि  कति आतुर थिए भन्ने देखिन्छ। किनभने उनले अंग्रेजहरूको सीमापारिको दाउपेचलाई अनेकतिरबाट नियालिरहेका थिए। यी सबै कारणहरूले मात्रै उनी नेपाल एकीकरण अभियानमा आतुर भएर लागेका हुन्।

पृथ्वीनारायणले जुन ठाउँबाट युद्धको उठान गरेका थिए त्यो सानो गोरखा राज्यको सुख समृद्धिको लागि नभएर मूलत: नेपालकै लागि थियो भन्ने कुरा काठमाडौंमा विजय प्राप्तिपछि उनले गोरखा राज्यको होइन बरु नेपालको हित कसरी हुन्छ भन्ने सोचे। चाहेको भए उनले गोरखाको लागि मात्रै हुने गरी अनेक कार्य गर्न सक्थे। काठमाडौं खाल्डोका मल्ल राजाहरूले पूज्ने गरेको ‘जीवित देवी कुमारी’लाई एकातिर पुजेर श्रद्धा, विश्वास र सम्मान दर्शाए भने अर्कोतिर काठमाडौं खाल्डोको रहनसहन र रीतिथितिलाई नबिगारी त्यसैलाई आत्मसात् गरी बसे। उनले विजित राज्यको धर्म/संस्कृतिमा कुनै हस्तक्षेप गरेनन्। यो उनको महानता थियो, जसलाई सबैले अंगीकार गरे।

त्यसअघि यक्ष मल्ल (वि.सं.१४८५–१५३८) र सोह्रौं शताब्दीताकाका मुकुन्द सेनले पनि राज्य विस्तारको अभियान चलाएका थिए। तर उनीहरूले राज्यलाई आफ्नो बपौती भन्ने सम्झे र मनलाग्दो गर्न थाले। भाइ/छोरामा राज्य भागबन्डा गरे। तर पृथ्वीनारायण शाहले त्यो भूल कहिल्यै गरेनन्। यद्यपि उनका भाइहरूले दाजु पृथ्वीनारायणसँग राज्य नमागेका होइनन्। तर उनले कसैको करबल र दबाबलाई वास्ता गरेनन्। बरु पौरखलाई उत्तरोत्तर बढाउँदै लगे। उनको शेषपछि उनको बुहारी राजेन्द्रलक्ष्मीले केही थपथाप गरिन् र कान्छा छोरा बहादुर शाहले  धेरै राज्य  बढाए। पृथ्वीनारायण शाहले ३२ वर्ष लगाएर नेपालको जे जति भूभाग एकीकरण गरेका थिए त्योभन्दा झन्डै तेब्बर परिमाणका भूभाग यिनले आर्जेका थिए। पूर्वमा तिष्टा र पश्चिममा काँगडासम्म नेपाललाई विस्तार गर्न उनी सफल भएका थिए। यस्ता वीर पुरुषको मरण षड्यन्त्रपूर्वक भयो। नेपालीले बिर्सनै नहुने अर्का महान् व्यक्ति बहादुर शाह हुन्।

जेठा छोरा प्रतापसिंह शाहबाट बाबुले रगत/पसिना बगाएको अभियानमा कुनै बढोत्तरी हुन सकेन। नाति रणबहादुर शाहले पनि खास केही गर्न सकेनन्। बौलाएर २३ वर्षको उमेरमै म बूढो भएँ भनेर स्वामी निर्वाणानन्द बने र मठ्याहा छोरा गीर्वाणयुद्धलाई वि.सं. १८५५ मा गद्दी सुम्पे। यद्यपि वि.सं. १८७२ मा अंग्रेजसँग भएको सुगौली सन्धिले एकीकरण अभियानमा बिराम नलागेसम्म आ–आफ्नो बल, बुद्धि र वर्कतले भ्याएसम्म एकीकरणले निरन्तरता पाएको थियो। त्यसबेला नेपालको भूभाग केही खुम्चियो पनि।

पृथ्वीनारायण शाहले धेरै युद्ध लडे। साम, दान, दण्ड भेदलाई आवश्यकताअनुसार प्रयोग गरे। युद्धका क्रममा उनीबाट केही कमजोरी नभएका होइनन्। जयन्त रानाको छाला पृथ्वीनारायणले काडेकै हुन्। कीर्तिपुरको लडाइँमा धोका दिने केहीको नाककान काटेकै हुन्। त्यो १७ धार्नी थियो भन्ने कुरा चाहिँ अंग्रेजहरूको स्वार्थको लागि कसैले बढाइ/चढाइ लेखिदिएको हो। पृथ्वीनारायणका दरबारिया कवि ललित बल्लभले पृथ्वीन्द्रवर्णोदयमा शत्रुका केही साहसी मानिसहरूलाई मारिदिनु भयो, केहीको नाकहरू काटी शत्रुका मानिसहरूलाई बिरूप पारिदिनु भयो लेखेका छन्।

उनले १८२२ चैत ३ गते कीर्तिपुर जितेका हुन्, त्यही महिनाको २७ गते नाक, कान काटेको देखिन्छ। त्यतिबेलाको युद्धको परिवेश र स्वभाव नै त्यस्तै खालको हुन्थ्यो। अहिले सम्झँदा त्यसो नगरेको भए हुन्थ्यो भन्ने लाग्छ। युद्धको मातमा कैयन् सभ्य भनेर सम्झिएको देशमा समेत त्योभन्दा डरलाग्दा कथा र गाथा गाँसिएको आज पनि सुन्न पाइन्छ। यो घटनालाई बढाइ/चढाइ किन गरियो ? त्यसबाट कसलाई फाइदा पुग्थ्यो अनुमानगम्य छ।

जत्ति बुद्धिमत्ता पृथ्वीनारायणमा थियो, त्यो अरूमा भएन। त्यसैले पनि अरू राजाहरूभन्दा बढी ख्याति उनले कमाए। बुझ्नै पर्ने सत्य र यथार्थ कुरा के हो भने, पृथ्वीनारायण शाह नभएका भए नेपाल भन्ने मुलुक नै हुँदैनथ्यो, नेपालको अस्तित्वलाई दिगो बनाइराख्न उनको ऐतिहासिक योगदान छ। किनभने, त्यतिबेला भारतमा मुसलमानी शक्ति घट्दै थियो र अंग्रेजहरूको शक्ति बढ्दै थियो। आज स्वतन्त्र र सार्वभौम राष्ट्रको नागरिकको हैसियतमा नेपाल र नेपालीको जुन शिर गर्वले उठेको छ, त्यो उनैको योगदान र बलिदानको परिणति हो। उनको जत्तिको योगदान नेपालमा कसैको पनि छैन भने हुन्छ। पृथ्वीनारायणले गोरखा सजाउने काम त गरेनन् गरेनन्। उल्टो काठमाडौंकी शाक्य कुमारीलाई सम्मानपूर्वक ढोगे र निरन्तरता दिए, पुराना गुठीगानाहरूलाई नवीकरण गरिदिए। यसको मतलव उनले नेवारलाई माया गरे, मगरलाई हेलाँ गरेर, गुरुङलाई अगाडि आउन नदिने भनेर त्यसो गरेका होइनन्। उनी राजनीति चेत भएका शासक थिए । सबैलाई सम्मान र मर्यादापूर्वक राखे। मान/सम्मान गर्नुपर्ने ठाउँमा सबैलाई उचित रूपले ख्याल गरेर दूरदर्शिता देखाएकैले उनले त्यत्रो एकीकरण कार्यलाई सफलता दिलाउन सके। 

तराईको यथार्थता पनि बुझ्नु आवश्यक छ। मूलत: भारतका नवाव–बजिरहरूको जग्गा नै तराई हो, त्यो जग्गा कमाउने काम यताका सेनराजाहरूले गरेका थिए। जग्गाधनी नवाव–बजीहरू हुन्, मकवानपुरका सेन राजाहरू त मोही मात्रै हुन्। सेनराजाहरूले मालबाजवीबापत बर्सेनि नवाव–बजिरहरूलाई केही वस्तु या रकम बुझाउँथे।

त्यसबेला तराईमा कुनै पनि राज्य थिएन। राजा जनकको पालामा विदेह राज्य थियो। कपिलवस्तुको शाक्य गणराज्यको प्राचीन गौरवगाथा विस्मृत भइसकेको थियो। थारू राजा दंगीशरणको कथा र उपाख्यान मात्र शेष रहेको थियो। आंैलोग्रस्त तराईलाई बस्ती विकास गर्दै, कालाबञ्जरलाई निर्मूल गर्दै जाँदा न आजको स्वरूपलाई देख्न पाइएको हो।

बाह्रौं शताब्दीताका सिम्रौनगढ राज्य थियो। काठमाडौंमा तीनवटा मल्ल राज्य थियो। पूर्वमा चौदण्डी र  विजयपुर थिए। किरातहरूले पूर्वमा छुट्टै राज्य थियो भनेर दाबी गरे पनि ती स्थानीय तहको शासन गर्ने लिच्छविकालका ‘सामन्त’ जस्तै हैसियतमा थिए भन्दा हुन्छ। सिम्रौनगढमा भएको राज्य पनि वि.सं. १३८१ मा गयासुद्दिन तुगलकले आक्रमण गरेर ध्वस्त पारिदिइसकेका थिए, त्यसको पनि कुनै अस्तित्व थिएन। न त्यहाँ कुनै ठूलो आम्दानीको स्रोत थियो, न त तत्कालको लागि त्यसको कुनै सम्भावना ! बरु औलोजस्तो संक्रामक रोगका कारण तराई बस्तीविहीन अवस्थामा थियो। एकीकरण अभियान सफल हुँदै गएपछि नेपालमा गाभेर तराईलाई सर्वसम्पन्न बनाउँदै लगिएको हो।

पृथ्वीनारायण शाहको ससुराली मकवानपुर, हहिहरपुरगढी भएकाले उनीहरूले पर्सादेखि लगभग जनकपुरसम्मका जग्गाजमिन कमाउँथे। त्यो कमाइ गरेबापत केही पैसा तथा बडेमानको हात्ती करको रूपमा सेनहरूले बर्सेनि बुझाउँथे। यसरी दक्षिणतर्फका नवावहरूले तराईको भूभागमा कब्जा जमाइरहेका थिए। पछि किनलकले तिनलाई पराजित गर्दै गर्दै सिन्धुलीगढीसम्म जित्दै आए, त्यो कर अब अबधका नवाव र बादशाहलाई नदिएर किनलकलाई बुझाउन थालियो। पृथ्वीनारायण शाह तराईमा लड्न गएनन्। किनभने आफ्नो सैन्य शक्तिको कमजोरी उनलाई थाहा थियो। अर्को कुरा उनको नीति नै पनि थियो– ‘जाईकटक नगर्नू, झिकीकटक गर्नू।’ किनलक तीन/चार वर्ष तराईमै अड्डा जमाएर बसे। त्यही क्रममा नेपालको तर्फबाट मकवानपुरका सेन राजाहरूले जे जस्तो वस्तु बुझाउने गरिएको छ त्यो बुझाउन तयार रहेको कुरा बताएपछि इष्ट इन्डिया कम्पनीका गवर्नर कार्टियलले पनि तराईबाट राम्रो आम्दानी नहुने देखेपछि तराईका भूभाग नेपाललाई नै दिए ।

नेपाल एकीकरणको सन्दर्भमा पृथ्वीनारायण शाहलाई विश्वमा यस्तै काम गरेर चर्चित भएका अमेरिकी राष्ट्रपिता जर्ज वासिङ्टन, जर्मनीका चान्सलर विस्मार्क र सम्राट् विलियम प्रथम र इटाली एकीकरणका काबुर, मेज्जिनी, गेरीवाल्डी, भिक्टोर इम्मैनुयल द्वितीयजस्ता पुरुषार्थी वीर योद्धाहरूसँग इतिहासकारहरूले तुलना गर्ने गर्छन्। तर पृथ्वीनारायण शाह पृथ्वीनारायण शाह नै हुन् उनको तुलना कोसँग गर्ने ? उनमा अगाध देशभक्ति, अनुपम साहस, प्रगाढ संगठन क्षमता र एउटा वीर सेनापतिमा हुनुपर्ने सबै गुणले सम्पन्न थिए। उनलाई अतुलनीय, महनीय र अजीवका पौरखी व्यक्तित्व हुनुभन्दा अत्युक्ति हुँदैन। उनले एकीकरणको महाअभियानको सुरुआत नगरिदिएको भए आज नेपाल राष्ट्र हुन्थ्यो/हुन्थेन भन्न सकिन्न। नेपाल राष्ट्रै नभएपछि नेपाली कहाँ हुने ? यस्ता युगद्रष्टा, पौरखी तथा महान् व्यक्तिलाई सतसत नमन एवं हार्दिक श्रद्धाञ्जलि।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन