एक्सन कटमा फर्किइन् निशा

    २१ पौष, २०७८



अभिनेत्री निशा अधिकारी फिल्म सेटमा फर्किएकी छन् । फिल्म ‘म’ बाट उनी ४ वर्षपछि फिल्म सेटमा फर्किएकी हुन् । फिल्मको सुटिङ सोमबारबाट सुरु भएको हो ।

निशाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफू फिल्म सेटमा फर्किएको जानकारी गराएकी छन् । फिल्म आफ्नो पहिलो प्रेम र जोस भएको बताउँदै उनले यो बिना जीवन बिताउन धेरै गाह्रो भएको समेत उल्लेख गरेकी छन् । उनले अगाडि लेखेकी छन् ‘पुरा चार वर्षमा हामी फेरि भेट्यौ ।’ उनले आफू ‘म’ फिल्म सेटमा रहेको समेत जनाएकी छन् ।

पछिल्लो समय ‘पोखराकी काली’ अभिनय गरेकी निशा आमा बनेपछि फिल्मबाट टाढा रहेकी थिइन् । फिल्मको मुहूर्त केही अगाडि राजधानीमा एक कार्यक्रमकाबीच भएको थियो । सो अवसरमा निशाले अब निरन्तर फिल्ममा काम गर्ने समेत बताएकी थिइन् ।

 

‘फिल्म अभिनयसँगै निर्माणको कामलाई पनि अगाडि बढाउनेछु’ उनले भनेकी थिइन् ‘जिन्दगीको नयाँ यात्रामा थिए । साढे तीन वर्ष छोरा हुर्काउनमै व्यस्त भए । यो पल निक्कै रमाइलो हुने रहेछ ।’ फिल्म क्षेत्रमा एक समय निकै चर्चामा छाउने गरेकी निशा सन्तान जन्माएपछि भने ओझेलमा थिइन् । उनी फिल्ममा कमब्याक गरे सँगै उनको चर्चा फेरि हुन थालेको छ । 



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन