कांग्रेसको गण्डकी प्रदेश सभापतिमा ५ नेताको दावी

    १० मंसिर, २०७८



पोखरा । देश संघीयतामा गएपछि पहिलो पटक नेपाली कांग्रेसको प्रदेश समितिको चुनाव हुँदैछ । १४ औं महाधिवेशन अन्तर्गत मंसिर १६ गते हुने प्रदेश समितिको निर्वाचनबाट पहिलो सभापतिको इतिहास लेखाउन नेताहरुको होड छ । गण्डकी प्रदेश समितिको सभापति बन्न पूर्व मन्त्री, सांसद र जिल्लाका नेताहरुको दौडधुप सुरु भएको छ ।

कास्कीका कांग्रेस नेता देवराज चालिसेले बुधबार प्रदेश कमिटी सभापतिका लागि उम्मेदवारी घोषणा गर्दै अन्य आकांक्षीलाई उछिने । कांग्रेस पार्टी रुपान्तरणका लागि भन्दै पौडेल समूहका चालिसे प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्ने पहिलो उम्मेदवार बने ।

पौडेल समूहकै पूर्वमन्त्री यज्ञबहादुर थापाले पनि प्रदेश सभापतिका लागि दाबी गरेका छन् भने कास्की कांग्रेसमा प्रभाव जमाइरहेका पूर्व सांसदसमेत रहेका शुक्रराज शर्माले नेतृत्व हात पार्न कसरत गरिरहेका छन् । पौडेल समूहकै मानिने शर्माले सभापति हात पार्ने कसरतका साथ पौडेल समूहलाई पनि प्रभावमा पारेर देउवा क्याम्पमा लागेकोसमेत कांग्रेस वृतमा चर्चा चलिरहेको छ ।

सभापति देउवा समूहका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीलाई पनि प्रमुख दाबेदारको रुपमा हेरिएको छ । तनहुँ कांग्रेसका पूर्वसभापति रघुनाथ पौडेलले पनि आफू प्रदेश सभापतिका लागि उम्मेदवार बनेको घोषणा गरिसकेका छन् ।

प्रदेश सभापतिका लागि अहिलेसम्म देखिएका पाँच जना आकांक्षीमध्ये चार जना पौडेल समूहकै छन् र उनीहरुको एकै खालको भनाइ छ– अहिले भइरहेको कांग्रेस नेतृत्वको प्रवृत्ति परिवर्तन र पार्टी रुपान्तरणका लागि उम्मेदवारी दिन लागेका हौं ।’

उम्मेदवारी घोषणा गर्ने दौडमा पहिलो बनेका कास्कीका नेता चालिसेले ११ जिल्लाका महाधिवेशन प्रतिनिधिले आफूलाई उम्मेदवारी दिन प्रेरित गरेको र जित्ने आत्मविश्वासका साथ चुनावी मैदानमा होमिएको दाबी गरे । ‘नेपाली कांग्रेसले नयाँ परिभाषा मागेको छ । २१ औं शताब्दीको पार्टीलाई हाँक्ने, नयाँ रक्तसञ्चार गर्ने नेता खोज्दैछ । कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने ओजनदार व्यक्तित्व खोजिरहेको छ,’ चालिसेले उम्मेदवारी घोषणा गर्दै भने, ‘भूतपूर्वको बिल्ला भिरेर योग्यताको मापदण्ड पुग्दैन ।’

जन्मको आधारमा होइन, जनताको बीचबाट नेता उठ्नुपर्छ भनेर प्रदेश सभापतिमा आफू उम्मेदवार बनेको चालिसेको भनाइ छ । पार्टी परिवर्तको पक्षमा आफ्नो उम्मेदवारी भएको चालिसेले दाबी गरे । कास्की कांग्रेसको निर्वाचन सकिएलगत्तै प्यानलै घोषणा गरेर चुनावी अभियानमा लाग्ने चालिसेको भनाइ छ ।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार रवीन्द्र अधिकारीसँग पराजित चालिसे त्रिभुवन विश्वविद्यालयको प्राध्यापकबाट राजीनामा दिएर राजनीतिमा होमिएका हुन् । उनी त्रिभुवन विश्वविद्यालयका पूर्व स्ववियु सभापतिसमेत हुन् ।

कास्कीमा १७ वर्ष पार्टी सभापति चलाएका पूर्वसांसद शुक्रराज शर्मा प्रदेश सभापतिका अर्का उम्मेदवार हुन् । पछिल्लो पटक २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा वाम गठबन्धनका जगत विश्वकर्मासँग पराजित शर्माले कास्की कांग्रेसमा प्रभाव जमाउँदै आएका छन् ।

शर्माले जसरी पनि प्रदेश सभापति पद हात पार्ने रणनीतिका साथ चुनावी मैदानमा होमिएको बताउँछन् । ७६ वर्षीय नेता शर्माले पार्टीलाई पद्धतिमा चलाउन आफ्नो उम्मेदवारी रहने बताए । ‘पहिलो पटक हुन लागेको पार्टीको प्रादेशिक समितिमा म सभापतिको उम्मेदवार हुँ । म यो क्षेत्रको पुरानो कांग्रेस नेता हुँ,’ शर्माले भने, ‘अनुशासन र पद्धतिमा चल्ने कांग्रेस बनाउन, बलियो कांग्रेस बनाउन म लाग्ने छु ।’ पौडेल समूहकै नेता भनेर चिनिने शर्माले आफू कुनै पनि गुटमा नभएको दाबी गरे ।

‘म कुनै गुटको उम्मेदवार होइन, म कांग्रेसको नेता हुँ । कांग्रेसकै साझा उम्मेदवार हुँ,’ शर्माले भने, ‘पहिले कास्की जिल्ला समितिको निर्वाचन गराउने दायित्व छ । त्यो सकिनेबित्तिकै प्रदेश सभापतिका लागि अभियानमा लाग्ने छु ।’ कुनै पनि हालतमा प्रदेश सभापतिको उम्मेदवारबाट आफू पछि नहट्ने शर्माले दाबी गरे ।

कास्की जिल्ला कार्यसमितिको निर्माण कसरी हुन्छ, त्यसले पनि प्रदेशको राजनीतिलाई प्रभाव पार्ने छ । कास्कीमा पाँच जना सभापतिका आकांक्षी छन् । त्यसमा चार जना पौडेल समूहकै तर कास्कीमा प्रभाव जमाइरहेका नेताहरुको उपगुट नजिक छन् ।

कास्कीका तीन वटा क्षेत्रबाट तीन जनाले नै प्रदेश सभापतिका लागि दाबी गरेका छन् । कास्की क्षेत्र नम्बर २ बाट चालिसे र ३ बाट शर्माले दाबी गर्दा क्षेत्र नम्बर १ का पूर्व मन्त्रीसमेत रहेका नेता यज्ञबहादुर थापाले पनि दाबी गरेका छन् ।

२०६१ सालपछि २ कार्यकाल कास्की कांग्रेसको नेतृत्व गरेका यज्ञबहादुरले पार्टी रुपान्तरणका लागि प्रदेश सभापतिमा आफ्नो उम्मेदवारी रहने बताए । ‘३० सालदेखि नेपाली कांग्रेसमै छु । ३६ सालमै विद्यार्थी आन्दोलनलाई योगदान गरें । कास्की कांग्रेस पनि हाँकेकै हुँ । अब गण्डकी प्रदेश समितिको नेतृत्व गर्न सबै हिसाबले म सक्षम हुँ,’ थापाको दाबी छ, ‘११ वटै जिल्लाका प्रतिनिधिलाई पनि भेटिरहेको छु । सबैले प्रोत्साहन गर्नुभएकै छ ।’

२०३६ सालमा नेविसंघमा विमलेन्द्र निधि अध्यक्ष हुँदा थापा उपाध्यक्ष बनेका थिए । नेपाल पुकार पत्रिकाको सम्पादक भएर पनि प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाएको बताउँदै थापाले भने, ‘आगामी निर्वाचनमा पार्टीलाई जिताउन पनि मेरो उम्मेदवारी हो ।’

२०७० सालमा संविधान सभा सदस्य बनेका थापा २०७३ सालमा न्याय, कानुन तथा संसदीय मामिला मन्त्री बनेका थिए । २०७४ सालको निर्वाचनमा खगराज अधिकारीसँग पराजित थापाले प्रदेश समितिले आफ्नो नेतृत्व माग गरेको दाबी गरे ।

कांग्रेस वरिष्ठ नेता पौडेल समूहका तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले पनि प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । पार्टीको गुटबन्दी अन्त्यका लागि आफू प्रदेश सभापतिको उम्मेदवार बनेको पौडेलले बताए ।

प्रदेशको नेतृत्व गरेर आगामी निर्वाचनमा ३ वटै तहमा कांग्रेसलाई विजयी गराउन आफूले उम्मेदवारी दिने र जीत पनि हासिल गर्ने उनको दाबी छ । ‘२०३१ सालदेखि निरन्तर कांग्रेस राजनीतिमा छु । १५ वर्षसम्म तनहुँ कांग्रेसको नेतृत्व गरें,’ पौडेलले भने, ‘पार्टीमा पैसा, गुण्डागर्दीको प्रवेश भयो । नीति र पद्धति होइन, व्यक्ति हाबी भयो । यसको अन्त्यका निम्ति मेरो उम्मेदवारी हो ।’

कांग्रेसभित्रको विकृति हटाउन आफूले भूमिका खेल्ने पौडेलले बताए । पुरानो, योग्य, अनुभवी नेता भएका कारण पनि व्यवस्थित कांग्रेसका निम्ति उम्मेदवारी दिने नेता कार्यकर्ताले पनि अपिल गरेको पौडेलको भनाइ छ ।

कांग्रेस केन्द्रीय सदस्य तथा पर्वतका प्रभावशाली नेता अर्जुन जोशीलाई पनि कांग्रेसको सम्भावित सभापतिका रुपमा हेरिएको छ । तर, जोशीले उम्मेदवारी घोषणा गरिसकेका छैनन् । ‘धेरै साथीले चर्चा गराइरहनुभएको छ । म प्रदेशको राजनीतिमा सक्रिय पनि छु, त्यसकारण पनि हुन सक्छ,’ जोशीले भने, ‘म आफैंले निर्णय गरिसकेको छैन । नेताहरुको व्यवस्थापनको पनि कुरा हो । नेताहरुले तँ लड्नुपर्छ भने लड्न तयार छु ।’ अब काठमाडौं पुगेर नेताहरुसँग छलफल गर्ने जोशीले बताए ।

पहिलो पटक हुन लागेको कांग्रेस प्रदेश कार्यसमितिमा सभापति एक, उपसभापति २, महामन्त्री २ र १ महिलासहित ३ जना सहमहामन्त्री हुनेछन् । प्रदेश सभापतिले निर्वाचित सदस्यहरुबाट नाम प्रस्ताव गरी निर्वाचित कार्यसमितिबाट १ जना कोषाध्यक्ष चुनिने छन् ।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन