बन्दले सुदूरपश्चिमको जनजीवन प्रभावित

    ३० कार्तिक, २०७८



बैतडी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिम प्रदेशमा परेको छ। बन्दले यहाँको जनजीवन प्रभावित भएको छ।

बैतडीसहित प्रदेशका सबै जिल्लामा बिहानैदेखि सवारी साधन नचलेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए। बजार तथा शैक्षिक संस्था पनि बन्द रहेका छन्।

लामो तथा छोटो दूरीका सवारी साधन नचलेपछि काम विशेषले गन्तव्य जाने यात्रुहरु मर्कामा परेका छन्। प्रहरी उपरीक्षक गौतमले भने, ‘सवारी साधन चल्न सकेका छैनन्। बजारहरु पनि बन्द छन्। बीचबाटोमा रोकिएका सवारीसाधनलाई स्कटिङ गरेर पठाइने व्यवस्था गरिएको छ।’

बन्दका कारण छोटो तथा लामो दुरीका सवारी साधन चल्न नसकेका जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख बोधराज ओझाले जानकारी दिए। उनले भने, ‘यहाँबाट तराई र काठमाडौंका लागि छुट्ने सवारीसाधन छुट्न सकेका छैनन्। बजार पनि बन्द रहेका छन्।’

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन