शीर्ष र सर्वोच्चबाट भुइँमान्छेलाई उपहार !

    २७ कार्तिक, २०७८



शीर्ष र सर्वोच्च, दुवै भुइँमान्छेको पहुँचभन्दा निकै माथिको ठाउँ । दुवैको धरातल हाराहारी भए पनि कहिले शीर्षले आफूलाई सर्वोच्चभन्दा ठूलो ठान्छ, कहिले सर्वोच्चले आफूलाई शीर्षभन्दा ठालु भन्छ । कहिले दुवै आपसमा ठूलो र ठालुको पद साटफेर र मोलमोलाई गरेर अरुलाई ठेलम्ठेल गर्छन् । अनि कालो कोट र दौरा फुकालेर सडकमा गाईजात्रा देखाउँछन् ।

सबैले घामजत्तिकै छर्लङ्ग बुझेको कुरा हो कि हरेक दलका माउ नेता आफूलाई शीर्ष भन्छन् र भुइँमान्छेको टाउकोमाथि बसेर गीर खेल्छन् । अनि सर्वोच्चमा पुग्ने न्यायाधीश र वकिल पनि आफूलाई शीर्ष नै ठान्छन् र तिनै शीर्षहरुसँग लेनदेन गरेर भुइँमान्छेको सातो लिन्छन् । शीर्ष र सर्वोच्चले पालैपालो भुइँमान्छेलाई जिल खुवाइरहन्छन् । यसपालि भने दुवैले सँगसँगै भुइँमान्छेका लागि सुनौलो उपहार योजना लागू गरेका छन् । भुइँमान्छे आफैँले पत्तो पाउन नसकेको उपहारको लेखाजोखा गरौँ है त !

सबैभन्दा पहिले सर्वोच्चको कुरा । सर्वोच्च भनेपछि सबैभन्दा उच्च, अरुभन्दा ठूलो । त्यहाँको ठूलो कुर्सीमा बस्ने ठूलो मान्छे त यसै पनि ठूलो । त्यही सर्वोच्चमै ओहोरदोहोर गर्ने, ठूलो मान्छेसँग जम्काभेट र आमनेसामने भैरहने, सवालजवाफ गर्नेहरु त झन् सानो हुने कुरै भएन । उनीहरु त यसै पनि ठूला । सर्वोच्चको ठूलो कुर्सीमा बसेर ठूलो भएका र यसै पनि मै ठूलो हुँ भन्नेहरुबीच यसपालि तँभन्दा म झन् ठूलो भन्ने प्रतिस्पर्धा चलिरहेको छ । उनीहरुको प्रहसन देखेपछि हातमा तराजु बोकेर कालोपट्टी बाँधेर उभिएकी न्यायमूर्तिसमेत अलमलमा परेकी छिन् भने भुइँमान्छे अलमलमा नपर्ने कुरै भएन । सर्वोच्चका ठूलाठालुहरुको तँतँ र ममपछि कहिलेकाहीँ आक्कलझुक्कल पालो आउने भुइँमान्छेका मुद्दा ओझेलमा परेका छन् । आफ्नो मुद्दाको पालो कहिले आउला भनेर भुइँमान्छेहरु आकाशतिर हेर्दै भुइँ खोस्रँदैछन् । तर ती भुइँमान्छेलाई के पत्तो छैन भने सर्वोच्चमा भैरहेका ठालुहरुको ठेलम्ठेल भुइँमान्छेकै हितमा छ ।

कसरी भन्नुहोला, ल सुन्नुहोस् यसरी । अदालत जाने किन ? मुद्दामामिला र न्याय माग्न । मुद्दामामिला किन हुन्छ ? आपसमा झैझगडा भएर । न्याय खोज्न किन अदालत जानुपर्छ ? अन्याय सहन नसकेर । अब मुद्दामामिला र न्याय दिने ठाउँ नै बन्द भएपछि मुद्दामामिला गर्नै पर्दैन, मुद्दामामिला नहुने भएपछि अन्याय आफसेआफ न्यायिक भइदिन्छ । अन्याय नभएपछि त्यो सहनुपर्ने बाटो पनि बन्द हुन्छ । मुद्दा छिनोफानो नहुने भएपछि मान्छेहरु झगडा बन्द गर्छन्, मुद्दा मामिला गर्ने अवस्था पन्छाउन थाल्छन् । झैझगडा स्वतः बन्द हुन थाल्छ, परिवार र समाजमा मेलमिलाप बढ्छ । आफूमाथि अन्याय गर्यो भनेर कसैले भन्न पर्दैन, परि हाले पनि भन्न सक्दैन । अन्यायमा परेकाले अन्याय भयो भनेर नभन्ने भएपछि अन्याय गर्नेलाई पनि अन्याय गर्न अल्छी लाग्छ, अन्याय गर्दागर्दै उ थाक्छ । अन्याय गर्ने पनि थाक्ने, अन्याय सहने पनि चुप हुने भएपछि समाजमा जताततै शान्ति हुन्छ । परिवार र समाजमा मेलमिलाप, सुख शान्ति बढाउनकै लागि सर्वोच्चका ठूलाठालुहरुले बहस र निसाफ रोकेका हुन् । आफैँ मारमुङ्ग्री खेलेर अरुको मुद्दा आउने बाटोमा बार लगाएका हुन् । आफ्नै लागि भएको यति कुरा भुइँमान्छेले बुझ्न सकेका छैनन् ।

सर्वोच्चपछि अब शीर्षहरुको कुरा गरौँ । शीर्षहरु त यसै पनि पहिलेदेखि भुइँमान्छेका लागि लडेका । पहिले आफू पनि भुइँमान्छे भएरै भुइँमै गुन्द्री ओच्छ्याएर सुतेका । भुइँमै पात बिच्छ्याएर भात खाएका, भुइँमै धुलोमैलो खेलाएर हुर्केका । जेलनेल भोगेर शीर्ष भएका । सहरमा शीर्ष महल बनाएका । शीर्ष आसन र रासनमा रमेका । उनीहरुलाई यसै पनि भुइँमान्छेको व्यथा, हैसियत थाहा छ । 

भुइँमान्छेलाई जति पेले पनि, जति सोसे पनि, जति निचोरे पनि केही गर्न सक्दैनन् भन्ने ज्ञान र अनुभव छ । त्यसैले उनीहरु भुइँमान्छेको नाम भजाएर पालैपालो सत्तामा पुग्छन्, सडकमा ओर्लन्छन् । सत्तामा पुगेपछि भुइँमान्छेले हरेक क्षण नभइ नहुने सरसामान र नचढी नहुने गाडीको भाडा बढाउँछन् । कहिले खाने तेलको भाउ बढाउँछन्, कहिले बाल्ने र चढ्ने तेलको । कसले कतिसम्म भाउ बढाउने भन्ने शीर्षहरुको प्रतिस्पर्धाले यतिखेर तरकारी पकाउने कराईमा हाल्ने तेल र गाडीमा हाल्ने तेलको भाउ छोइनसक्नु भएको छ । रित्तो सिलिन्डरलाई ओदान बनाएर दाउरा खोज्नुपर्ने अवस्था छ । बजारबाट घर फर्कंदा पहिलेजस्तो झोलाभरी सामान बनाएर लैजान नपाइने भएको छ । तर यो पनि शीर्षहरुले भुइँमान्छेको हितकै लागि गरेका हुन् ।

सामान सस्तो भयो भने मान्छेले धेरै किन्छन् । धेरै किनेपछि धेरै पैसा छिनभरमै सकिन्छ । धेरै खाइन्छ । धेरै पैसा खर्च गर्नु आर्थिक मितव्ययिताको हिसाबले ठिक होइन । धेरै खानु स्वास्थ्यको लागि पनि ठीक होइन । अनि सधैँ गाडीमा हिँड्नु पनि स्वास्थ्यको लागि हितकर हुँदैन । जति थोरै खान र जति धेरै हिँड्न सक्यो, स्वास्थ्यलाई उति धेरै फाइदा हुन्छ । मान्छेले आफूसँग भएको पैसा जति जतन गरेर राख्न सक्यो, उति नै उ धनी र सम्पन्न हुन्छ । त्यसैले भुइँमान्छेलाई स्वस्थ र सम्पन्न बनाउनकै लागि शीर्षहरुले पालैपालो महँगी थोपरेका हुन् । अब त भुइँमान्छेहरुले बुझे होलान् नि शीर्षहरुले लगाएको गुन !

गुनैगुन लगाउने शीर्ष र सर्वोच्चको जयजयकार गरौँ । अहिलेसम्म गाली र आलोचना गरेको भए सुनपानी छर्केर आफूलाई चोख्याऔँ।

 

 



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन