नीतिकथा : धैर्यको फल

    २५ असोज, २०७८



गर्भवती मृगले जंगलमा बच्चा जन्माउन लागेकी थिई। ऊ एकान्त र सुरक्षित ठाउँको खोजीमा घुम्दै थिई। हिँड्दाहिँड्दै नदीको किनारमा अग्लो र बाक्लो घाँस देखी। उसलाई सो स्थान बच्चा जन्माउन उपयुक्त लाग्यो। त्यहाँ पुग्नासाथ उसलाई प्रसव पीडा सुरु भयो। ठीक त्यही समयमा आकाशमा कालो बादल मडारिँदै बिजुली चम्किन थाल्यो। मेघ गर्जनका साथ पानी पर्ने संकेत देखा प¥यो। उसले दाहिनेतर्फ हेरी त्यहाँ एउटा सिकारीले तीरको निसाना मिलाएर आफूतर्फ ताक्दै थियो। सिकारीको निसानामा पर्न लागेको देखेपछि आत्तिएर बायाँतर्फ फर्की। बायाँतर्फ एउटा भोकाएको बाघ लगभग झम्टिन तयार अवस्थामा थियो। उसको सामुन्ने सुकेका घाँसहरूमा डँढेलोले समातिसकेको थियो भने पछाडिपट्टि नदीमा पानी धेरै थियो। ऊ चारैतिरबाट यस्तो घेराउमा परी जहाँबाट भाग्न सक्ने कुरै थिएन।

उसले सो अवस्थामा आफूलाई शून्यमा छोडी र बच्चा जन्माउन सुरु गरी। जस्लाई हामी ‘भगवान् भरोसा’ भन्ने गर्छौं। अब उसलाई बचाउने पालो उनै भगवान्को थियो। अचानक निकै ठूलो आवाजका साथ बिजुली चम्कियो। बिजुलीको चमकले सिकारीको आँखा तिर्मिरायो भने बादल चड्केको आवाजले सिकारी तर्सियो। सिकारी तर्सिंदा उसको हातबाट अघिदेखि निसाना लगाइरहेको तीर फुस्कियो। ठ्याक्कै त्यै बेलामा मृगले बच्चा जन्माई र आफ्नो बच्चालाई हेर्न उसले आफ्नो टाउको तल नुघाउँदा उताबाट आएको तीर उसको टाउको माथिबाट पास हुँदै अर्कोतिरबाट झम्टिनै लागेको बाघको मुखमै लाग्यो। तीर लागेपछि बाघ छटपटाउँदै भाग्यो। घाइते बाघले आफूलाई आक्रमण गर्न सक्ने डरले सिकारी पनि त्यहाँबाट भाग्यो। घनघोर वर्षा हुन थाल्यो। पानी परेपछि मृगको नजिकै आइसकेको डढेलो निभ्यो। अब त्यहाँ मृग र उसको बच्चा दुवै सुरक्षित थिए।

नैतिक शिक्षा : हाम्रो जीवनमा पनि यस्ता समय आउँछ्न् । जब हामी चारैतिरबाट समस्या नै समस्याले घेरिएका हुन्छौं। त्यसैबेला सबै कुरा नियतिकै हातमा छोडेर आफ्नो उत्तरदायित्व र प्राथमिकतामा ध्यान केन्द्रित गर्नुपर्छ।

 

 



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन