पुरुष सत्तामा नारी स्वतन्त्रता

    २४ असोज, २०७८



 

हजुरआमाहरू टीका, पोते, चुरा, धागो, सिन्दूर आदिलाई नारी सौन्दर्यका प्रतीक मान्नुहुन्थ्यो। उहाँहरूका पालामा शिरफूल, शिरबन्दी, बाला, कल्ली आदि पनि सौन्दर्यकै साधन मानिन्थे। यिनीहरूमध्ये धेरैजसो सधैं प्रयोग गर्नेमा पर्थे। सधैं प्रयोग गर्न नमिल्नेहरू सन्दुकमा सुरक्षित हुन्थे र व्रत पर्व तथा मांगलिक कार्यका बेला प्रयोगमा आउँथे। चुरा, पोते, धागो, सिन्दूर त यसै पनि सौभाग्यका प्रतीक नै भई हाले, जो कि पतिको मृत्युमा त्यागिन्थ्यो कि आफैं मर्दा छाडिन्थ्यो। आमाहरूका पालासम्म पनि तिनले निरन्तरता पाइरहे। उहाँहरू लामो धागोले कपाल बाटी सिन्दूर पोते र टीका लगाएर हिँड्नुहुन्थ्यो।

छोरी पुस्तामा भने स्वरूपमा केही परिवर्तन भएका छन् तर अवशेष बाँकी नै छन्। भलै चाँदीको बाला प्रमोसन भएर सुनमा उक्लेका हुन्। कल्लीले डिमोसन भएर पाउजुको रूप लिएकै छन्, धागोहरू रिबन र रबडब्यान्ड बनेर आएकै छन्। पोतेहरूले मंगलसूत्र र तिलहरीको रूप लिएका छन्। सिन्दूरहरू क्रिम पाउडर बनेर गालामा सरेका छन्। शिरबन्दी र शिरफूलहरू रानीहार बनेर गलामा झरेका छन्। थाहा छैन यिनलाई कसले नारी सौन्दर्यका साधन बन्न सिकायो, कसले लगायो। न वेदले भनेको छ, न उपनिषद्ले। पौराणिक ग्रन्थमा भेटिन्छन् भने छुट्टै कुरा हो, जो निकै पछिको चिन्तन मानिन्छ।

खासमा वैदिक संस्कृतिका आधार ग्रन्थ भनेका वेद, उपनिषद्, ब्राह्मण र आरण्यक ग्रन्थ तथा षड् वेदांग एवं तिनका शाखा प्रशाखाहरू नै हुन्। जहाँ कतै पनि तिनलाई नारी सौन्दर्य भनिएको छैन, मानिएको छैन। हो, विवाह पद्धतिका मन्त्रहरूमा भने संकेत पाइन्छ। जो अथर्ववेदको विवाह सूक्तको आधारमा तयार गरिएको पद्धति हो। अथर्ववेद १४औं काण्डको पहिलो र दोस्रो सूक्तलाई विवाह सूक्त भनिन्छ, जहाँ १३९ मन्त्र छन्। यीमध्ये केही मन्त्र ऋग्वेद दसौं मण्डलको ८५औं सूक्तमा पनि भेटिन्छन्। यिनै मन्त्रहरूका आधारमा विवाह पद्धति बनाइएको हो। तथापि मन्त्र एउटै भए पनि विवाह पद्धतिमा आएका मन्त्र र वैदिक पद्धतिमा रहेका मन्त्रका अर्थ र उद्देश्य भने फरक छन्। यसको अर्थ हो विवाह पद्धतिमा आएका मन्त्रहरू वैदिक ग्रन्थबाट जबर्जस्त तानिएका हुन्।

सम्भवतः त्यसैबेलादेखि नारी सौन्दर्यमा उल्लिखित साधनले स्थान पाएका हुन्, जतिबेला विवाह पद्धति लेखिएको थियो। हाम्रा महिला नेतृहरू नारी स्वतन्त्रता अवरोधक भनेर पुरुषसत्तालाई गाली त गर्छन्। नारी स्वतन्त्रतामा बन्देज लगाउने काम कसले गरेको छ त्यतातिर भने ध्यान दिँदैनन् वा दिन चाहँदैनन्। यदि नारी स्वतन्त्रतामा अंकुश लगाउने काम कसैले गरेको छ भने तिनै नारी सौन्दर्यका साधनले गरेका छन् न कि पुरुष सत्ताले। जुन सिन्दूरलाई नारीहरू सौभाग्यको प्रतीक ठानेर सिउँदोमा सजाउँछन्। तिनै सिन्दूरले पत्नीहरूले पतिको इच्छालाई नै आफ्नो इच्छा ठानेर बस्नुपर्छ भन्ने पतिव्रता धर्मको पाठ पढाइरहेका छन्। पोते र धागोको अवस्था पनि त्यस्तै हो, जसले विवाहिताको सर्टिफिकेट भिराएर चारदिवारीमा बाँधिन सघाएको छ।

नारी स्वतन्त्रतामा कतै समस्या छ भने सत्ताा र संस्कृतिमा होइन, संस्कृतिको नाममा पलाएको विकृतिमा छ। हाम्रो संस्कृतिले कसैलाई वर र कसैलाई पर गरेको छैन।

बाला र कल्लीको त झन् के कुरा गर्ने हत्कडी र नेलकडी बनेर हात गोडा बाँध्ने काम गरेका छन्। शिरफूल र शिरबन्दी भलैका सुनका हुन् तर तिनले भार बोकाउनेबाहेक केही गरेका छन् जस्तो लाग्दैन। तिलहरी र मंगलसूत्रको बन्धन त्योभन्दा पनि कडा छ। यदि नारी स्वतन्त्रताको कुरा गर्ने हो भने सर्वप्रथम शृंगारको नाममा संस्कार र संस्कृति बनेर जरा गाडेको यस्ता साधनतिर ध्यान दिनुपर्ने हुन्छ। यसमा सर्वाधिक चासो तिनै महिला नेतृ तथा साहित्यकारहरूले दिनुपर्ने देखिन्छ, जसले पुरुष सत्तालाई धारे हात लगाउँदै आएका छन्।

बोलीले रातदिन पुरुषसत्तालाई गाली गर्ने अनि व्यवहारमा भने जसले स्वतन्त्रतामा बन्देज लगाउने प्रयास गरिरहेको छ। तिनको संरक्षणमा तीन बित्ता उफ्रेर आफैं अघि सरिरहने हो भने न महिला हिंसा रोकिन्छ न महिला स्वतन्त्रतामा बल पुग्छ। के कसको हार राम्रो र कसको तिलहरी ठूलो भन्ने कुरा पुरुष सत्ताले सिकाएको हो र ? होइन। 

हातमा सुनको खदिलो बाला र गोडामा बुट्टादार पाउजु नलगाई हिँड्न हुँदैन भन्ने पनि पक्कै पुरुष सत्ता होइन होला। महिलाले सिउँदो खाली राख्न पनि हुँदैन र हमेसा चुरा, धागो र पोते लगाएकै हुनुपर्छ भन्ने पुरुषहरू हुन् भनौं भने त्यो पनि हो जस्तो लाग्दैन। त्यसैले यसतर्फ सर्वप्रथम नारीहरूकै ध्यान पुग्नुपर्ने देखिन्छ।

अहिले पनि नेतृत्व तहमा महिला पुग्न सकेनन्, त्यसैले नारी स्वतन्त्रतालगायत तमाम लैंगिक समस्या रोकिएन भन्ने महिला दिदीबहिनी धेरै हुनुहुन्छ। सौभाग्य नै मान्नुपर्छ, एक समय कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाजस्ता राज्यका तीनवटै अंगको नेतृत्वमा महिला नै पुगेका थिए। राष्ट्रपति त अहिले पनि महिला नै छन्। खोइ उनीहरूले यसबारे एक शब्द बोलेका थिए वा बोलेका छन् ? समस्या कहाँ छ र कसले सिर्जना गर्न सहयोग गर्‍यो वा गरिरहेको छ ? त्यता चाहिँ ध्यान नदिने बरु लहैलहैमा लागेर पुरुषसत्तालाई गाली मात्र गर्ने हो चलन छ। यसो हो भने सय वर्ष होइन, हजार वर्ष कराए पनि केही हुनेवाला छैन। काग कराइरहन्छ। पिना सुकिरहन्छ। जे छ त्यही हुनेछ, त्यही नै चलिरहनेछ। समस्या पहिल्याएर समाधानतिर लाग्ने हो भने स्वयं समस्यालाई नै समाधान बनेर उभिन कर लाग्छ।

दसवर्षे जनयुद्धको पृष्ठभूमिमा भएको दोस्रो जनआन्दोलनले २ सय ४० वर्षभन्दा पुरानो राजसंस्था हटाएर मुलुकमा गणतन्त्र स्थापित गर्‍यो। न गणतान्त्रिक संविधान र ऐनकानुनले राजालाई चिन्दैन। यसको अर्थ यो होइन कि संस्कार र संस्कृतिले पनि चिनेको छैन। संविधानको धारा र कानुनको दफामा राजा नभए पनि संस्कार र संस्कृतिमा राजसंस्था अहिले पनि ज्यूँका त्यूँ छ। खानुअघि भूूपतये स्वाहा भनेर एक गाँस भूपति (राजा) लाई छुट्ट्याउने चलन कायमै छ। पितृकार्य गर्दा आफ्ना पितृहरूलाई भन्दा अघि एक भाग सिधा भूस्वामी (राजा) को नाममा छुट्ट्याउनु पर्ने नियम पनि जीवितै छ। थाहा छैन, हामी गणतन्त्रवादीहरू के कतिले बाबुको श्राद्ध गर्छौं। यदि गर्छौं भने राजालाई पनि सिधा तथा तर्पण पानी दिएकै हुन्छौं। किनकि पद्धति एउटै उही छ र यही पद्धति रहेसम्म यस्तै गरिरहनेछौं। यस्तो अवस्थामा कि सांस्कृतिक पद्धति बदल्नुपर्ने हुन्छ, होइन भने राजालाई पूर्वराजा भनेर उम्कन खोज्ने मानसिकता बदल्नुपर्ने हुन्छ।

नारी स्वतन्त्रतामा कतै समस्या छ भने सत्ता र संस्कृतिमा होइन, संस्कृतिको नाममा पलाएको विकृतिमा छ। हाम्रो संस्कृतिले कसैलाई वर र कसैलाई पर गरेको छैन। उच, निचजस्ता विभेद जानेकै छैन। वसुधैव कुटुम्बकम्को पाठ पढाउने संस्कृतिले न हिंसा बढाउने काम गर्न सक्छ न कसैको स्वतन्त्रतामा बाधक बन्न सक्छ। वेदमै सयौं त्यस्ता मन्त्रद्रष्टा नारीहरू छन्, जसले स्वतन्त्रताको उपभोग गरेका पनि छन् र गर्न सिकाएका पनि छन्। तिनै वैदिक मन्त्रद्रष्टा पुलोमा दानवपुत्री शची हुन्, जसले स्वयम्बर संस्कृति सूत्रपात गरेकी छन्। जतिबेलासम्म शृंगारको नाममा ओडिएको बर्को फालिन्न वा फाल्न सकिन्न, त्यतिबेलासम्म महिला स्वतन्त्रताको कुरा गर्नु ओछ्यान लगाऊ मात्र भन्छौं दौराचाहिँ फुकाल्दैनौं भन्ने उखान चरिथार्थ हुने बाहेक केही होला जस्तो लाग्दैन।

 



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन