गर्भवती प्रहरीको भूमिकामा नेहा

    २० असोज, २०७८



बलिउड अभिनेत्री नेहा धुपिया गर्भवती महिला प्रहरीको भूमिकामा देखिने भएकी छन्। वेहजाद खम्बाटाको लेखन र निर्देशनमा बन्ने चलचित्र ‘ए थस्डे’मा नेहाले गर्भवती महिला प्रहरीको भूमिका निर्वाह गर्न लागेकी हुन्।

नेहा केही समय अघि दोस्रो पटक आमा बनेकी छन्। उनले गत जुलाई १८ मा आफू दोस्रो पटक गर्भवती भएको खुलासा गरेकी थिइन्। उनले ‘नयाँ होम प्रोडक्सन चाँडै आउँदै छ’, भन्दै फोटो सेयर गरेकी थिइन्। गर्भवती रहेकी नेहालाई निर्देशक खम्बाटाले महिला प्रहरीको भूमिका दिएका हुन्। 

नेहाले चलचित्रको ‘लुक’ सामाजिक सञ्जालमा सेयर गरेकी छन्। ‘रियल र रील लाइफबीचको पुल बनिरहेको छु। मलाई साथ र सहयोग गर्ने तथा मप्रति भरोसा राख्ने सबैप्रति आभारी छु। यो त्यो आमाका लागि हो जो यस संसारमा छन् र हामी सँगसँगै मजबुद बन्नेछौं’ भन्ने क्याप्सन लेख्दै उनले सामाजिक सञ्जालमा सुटिङका क्रममा लिइएको तस्बिर सेयर गरेकी हुन्। जुन तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। अकल्पनीय घटनामा आधारित ‘ए थस्डे’ थ्रिलर फिल्म हो।

यस चलचित्रमा नेहासँगै यामी गौतम, डिम्पल कपाडिया, अतुल कुलकर्णी र माया सराओलगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गर्ने छन्। नेहाले चलचित्रमा एसीपी क्याथरिन अल्वारेजको भूमिका निर्वाह गरेकी छन्। 



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन