अरनिको पथ पछ्याउँदै मञ्जुलकला र देशको गौरव बढाउन भीमकाय मूर्ति बनाउने निर्णय गरेँ’

    २ असोज, २०७८



इतिहासमा नेपालीहरुले विश्वसामु आफ्नो कार्यकुशलता र बहादुरी देखाइसकेका छन् । दोस्रो विश्वयुद्ध र नेपाल एकीकरणका बेला ब्रिटिश साम्राज्यसँग बहादुरीका साथ लडेर नेपालीले आफ्नो सामर्थ्य देखाए ।

त्यसैगरी नेपालीको कार्यकुशलता झल्कने ललितकलाको महिमालाई विश्वसमुदाय सामु चिनाउन राष्ट्रिय विभूति एवं कलाकार अरनिकोले मित्रराष्ट्र चीनको भोटमा गएर आकर्षक स्तूप निर्माण गरेको इतिहास छ ।

२१ औं शताब्दीमा महान् कलाकार अरनिकोको पदचाप पछ्याउँदै जापानको कडा चट्टानमा विश्वको सबैभन्दा ठूलो बुद्ध मूर्ति निर्माणको अगुवाई गरिरहेका छन्– नेपाली कलाकार मञ्जुल बराइलीले ।

जापानको खामीआमाकुशा सहरको एउटा पहरामा सन् २०१६ को सेप्टेम्बरदेखि गौतम बुद्धको विशाल मूर्ति निर्माण गर्ने कार्यमा मञ्जुल बराइलीको नेतृत्वमा ६ नेपाली युवा मूर्तिकार सहभागी छन् ।

विश्व सम्पदा सूचीमा समावेश गर्ने जापान सरकारको योजनासहित निर्माण हुन गइरहेको विशाल मूर्ति ६ वर्षभित्र तयार पार्ने लक्ष्य छ ।

२ सय वर्ष यताकै मानव निर्मित सबैभन्दा ठुलो ऐतिहासिक मूर्ति कुद्नका लागि पहिलोपटक जापान पुगेका सानुभाइ विश्वकर्मा ९काभ्रे० र रामचन्द्र पण्डित ९उदयपुर० दुई वर्ष अघि नेपाल फर्किएका छन् भने गणेश बान्तवा राई र मञ्जुल बराइली जापानमै छन् । गत वर्ष नेपालबाट बोलाइएका थप २ जनासहित अहिले ६ जना युवाले जापानको पहरोमा इतिहास रच्ने सपना देख्दैछन् ।

बुद्धको मूर्ति निर्माण गर्नका लागि पहिलो पटक २० सेप्टेम्बर २०१६ मा मन्जुलसहितको टोली जापान पुगेको थियो । जापान पुगेको भोलिपल्टै मञ्जुल अन्य तीन नेपाली समकक्षीसहित खामीआमाकुशा पुगे ।

विश्वका सामु नाम राख्ने उच्च अभिलाषा बोकेर जोखिमयुक्त कामका लागि तम्सिएका तन्नेरीहरुले कल्पना गरेको जापानभन्दा पृथक थियो त्यो ठाउँ । सुनसान बस्ती, नेपालकै जस्तो गाउँले परिवेश, वरपर सुन्दर हरियाली, स्वच्छ वातावरण । केही टाढा आकासिएका ठूलठूला पहाड र विशाल ढुङ्गा ।

त्यही भिमकाय ढुङ्गामा निर्माण हुने ऐतिहासिक बुद्ध मूर्तिको शिलान्यास हुने कार्यक्रम थियो त्यो दिन ।

शताब्दीकै सर्वाधिक ठूलो मूर्तिको शिलान्यास हुँदै गर्दा ठुलो संख्यामा मानिस उपस्थित भए । बुद्ध धर्मालम्वीहरुको बाहुल्यता रहेको जापानमा उनीहरुले पूज्ने आस्थाका धरोहर बुद्ध भगवानको विशाल मूर्ति शिलान्यासको खुशीयालीमा रमाइरहेका थिए स्थानीयहरु । तर, मञ्जुल बराइलीको मनमस्तिष्क भने आँखै अगाडिको भीमकाय चट्टानमा घोत्लिँदै थियो । उनको मानसपटलमा ज्वार चल्दै थियो । विश्व कीर्तिमानीका लागि विशाल मूर्ति निर्माण गर्न सम्भव होला कि नहोला रु यदि कुनै कारणले असफल भएमा के होला रु आखिर जीवनमै पहिलो पटक यति ठूलो मूर्ति निर्माणको काममा हात हाल्नु थियो । शताब्दीमा जुरेको चुनौतीलाई अवसरमा बदल्नु थियो । यही सपनालाई साकार पार्न उनले नेपाल आमा र कोटीकोटी देवीदेउतालाई सम्झिएर ऐतिहासिक मूर्ति निर्माणमा हस्तास्क्षर गरे ।

मूर्ति निर्माणका लागि हस्ताक्षर गरेपछि मञ्जुल त्यही पहरोमा डोरीको सहायतामा झुण्डिदै भीमकाय चट्टानमा बुद्धको आकृति तयार गर्ने काममा तल्लीन हुन थाले । ७० फिट अग्लो झरना भएको कालो पत्थरमा डोरीमा झुण्डिदै २ सय फिट दायाँ र बायाँ बुद्धमूर्तिको आकृति कोर्नु उनको दैनिकी बन्यो ।

मनमा दोस्रो अरनिकोको ताज पहिरिने सपना सजाएर उनी बिस्तारै चट्टानलाई बुद्धको आकृतिमा ढाल्ने अभियान अघि बढाउन थाले । महिनौं दिनपछि बल्ल बुद्धको आकृति देखिन थाल्यो । उनको नियमित परिश्रमसँगै कालो पहाडमा सम्भावनाको आकृति झल्कन थाल्यो ।

मञ्जुलको एउटै दैनिकी दोहोरिएको ५ वर्ष भयो । तर, उनी र उनका सहकर्मी थाकेका छैनन् । मूर्ति निर्माण सम्पन्न भएपछि दर्शनका लागि पुग्ने दर्शनार्थी र खोज अनुसन्धानकर्ताले गर्ने कल्पनाका बारेमा घोत्लिन्छन् उनी । अनि आफ्नो यति कठिन परिश्रमको फल सिङ्गो देशले प्राप्त गर्ने, यहाँ घुम्न आउने प्रत्येक पर्यटकले मूर्तिका बारेमा चासो राख्दा नेपाललाई चिन्न पाउने कुरालाई मनमा खेलाउँदै उनले आफूमा ऊर्जा भर्छन् ।

जापानको एउटा संस्थाले कामीआमाकुसा क्षेत्रको कडा चट्टानमा विश्वमा २ सय वर्षको समयावधिमा निर्माण गरिएकाभन्दा ठूलो आकारको बुद्ध मूर्ति बनाउने प्रस्ताव राखेपछि आफ्नो कला र देशको गौरवका लागि सहर्ष स्वीकार गरेको मञ्जुल बताउँछन् ।

‘विश्वको सबैभन्दा ठूलो बुद्धको मुर्ति बनाउने योजनालाई अवसर र चुनौतीका रुपमा स्वीकार गरेको थिएँ,’ उनले भने, ‘यो चानचुने अवसर थिएन । जापानजस्तो समृद्ध देशले एउटा नेपालीलाई महान कामका लागि विश्वास गरेर अवसर दिनु सानो कुरा होइन । यो अवसरले म र देश दुवैको इज्जत, प्रतिष्ठा बढ्छ भनेर निर्णय लिएँ ।’

जापान सरकारको प्रस्तावमा ७० फिट अग्लो एउटा, ४० फिटका दुईवटा र ३० फिट अग्ला चारवटा मूर्ति निर्माण गरिरहेको उनी बताउँछन् । उनले पाँच वर्षभित्र सबै मूर्ति निर्माणको काम सक्ने गरी सहमति गरेको भए पनि निर्माण कार्य थपिएपछि समयावधि एक वर्ष थपिएर ६ वर्ष पुगेको बताए ।

‘मूर्ति निर्माण थालेको झण्डै ५ वर्ष पुगेको छ,’ उनले भने, ‘एक वर्षभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने योजनाका साथ काम गरिरहेका छौं ।’

मूर्तिकार मञ्जुलले झण्डै ८० प्रतिशत काम सम्पन्न भएको बताए । उनका अनुसार सबैभन्दा गाह्रो मानिएको झण्डै ९९ प्रतिशत सकिएको छ भने साइडमा बन्दै गरेका सहायक ६ वटा मूर्तिको निर्माण कार्य ७० प्रतिशत सकिएको छ ।

मूर्ति बनाउन ५ वर्ष अघि जापान पुगेर काम गरेका दुईजना बीचमै नेपाल फर्किए । त्यसपछि उनले नै नयाँ मूर्तिकारहरु जीवन पौडेल, रामकुमार राई, चतुरलाल राजवंशी र सुवास विश्वकर्मालाई जापान बोलाएका थिए । काम सक्न तोकिएको भन्दा बढी समय लाग्ने देखिएपछि थप चार कलाकार कम्पनीकै स्वीकृतिमा बोलाएको उनको भनाइ छ । अहिले ६ जना युवा मूर्ति कुँद्ने काममा तल्लीन छन् ।

कलाको विकासमा सरकारको कमजोरी

कलाकार मञ्जुलले देशमा काम गर्ने वातावरण नभएकाले आफ्नो सिप विदेशमा बेच्नु परेको गुनासो गरे । नेपालमै जन्मेका शान्तिका अग्रदूत भगवान गौतम बुद्धको मूर्ति नेपालीले अर्काको देशमा पहाडको ढुङ्गा खोपेर बनाउनु परेको उनले बताए । ‘नेपालमा यस्ता काम गर्ने अवसर र वातावरण बनेको भए ठूलाठूला पहाडलाई खोपेर विशाल मूर्ति बनाएर विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सकिन्थ्यो,’ उनले भने, ‘देशमा यस्तो काम गर्ने वातावरण नभएका कारण आफ्नो सिप विदेशी मुलुकलाई बेच्नु प¥यो ।’

उनको विचारमा एउटा कलाकारले भोग्नुपर्ने ठुलो पीडा भनेको आफूले बनाएका सिर्जनालाई अरुको स्वामित्वमा दिनुपर्ने बाध्यता हो । उनले भने, ‘अथक मेहनत र परिश्रम लगाएर निर्माण गरेका सिर्जना छाड्नु पर्दा त्यसको मायाले सताउँछ नै ।’

कलाकार मञ्जुलले जापानी व्यापारी ओसिमा सिजुकीको ३० वर्ष अगाडिको परिकल्पना अनुसार झरनाको पहरामा विशाल बुद्ध मूर्ति निर्माण गरिएको बताए ।

बुद्ध जन्मस्थलबारे भ्रम चिर्ने अवसर

कलाकार मञ्जुलले बुद्ध नेपालमा जन्मिएको भन्ने यथार्थ जापानी उच्चपदस्थदेखि जनस्तरसम्म बुझाउने अवसर आफूले पाएको बताए ।

‘बुद्ध नेपालमा जन्मिएको भन्ने कुरा नेपाली पोशाकका बारेमा धेरै जापानीलाई थाहै रहेनछ,’ उनले भने, ‘प्रदर्शनीमा राखिएका सामग्रीमा बुद्ध भारतमा जन्मिएको उल्लेख थियो, उनीहरुको बुझाइमा बुद्ध भारतमै जन्मिएका हुन् भन्ने रहेछ ।’

आफूले जापानमा रहेको त्यो भ्रमलाई चिरेको र कार्यक्रमस्थलमै बुद्धसम्बन्धी वास्तविक तथ्यहरू प्रस्तुत गरेको मञ्जुलले बताए ।

विदेशीले आफ्ना देशका सम्पदालाई धेरै धनराशी खर्च गरेर विश्व सम्पदा सूचीमा पार्ने प्रयास गरिरहेको उनले बताए । ‘हाम्रो देशमा विश्व सम्पदा सूचीमा पार्न लायक धेरै सम्पदा छन्,’ मञ्जुलले भने, ‘त्यस्ता सम्पदालाई अब, सरकारले सूचीकृत गर्न ढिलो गर्न हुँदैन ।’

कला के हो ?

प्रकृति र आफूभित्र भएका सम्भावनालाई समिश्रण गरी सुन्दर ढङ्गबाट गरिएको प्रस्तुति नै ‘कला’ भएको मञ्जुल बताउँछन् । चट्टानी पहरामा बुद्धमूर्ति र व्यक्तिभित्रको बुद्धमूर्ति बनाउन सक्ने क्षमता बीचको अन्तरघुलनको समिश्रणबाट कलाको सिर्जना हुने उनको ठम्याइ छ ।

नेपालका ठुला पहाडका चट्टानलाई कुँदेर आकार र प्रकृति अनुरुपका मूर्तिमा रुपान्तरण गर्ने आफ्नो योजना रहेको उनी सुनाउँछन् । तर कलाको मध्यमबाट नेपालमा धेरै ठुला काम गर्न सकिने भए पनि सरकारको अदुरदर्शिता र आर्थिक अभाव नै यस्ता कामको प्रमुख बाधक रहेको उनी बताउँछन् ।

राज्यलाई १ हजार मूर्ति दिने योजना

मञ्जुल बराइलीका केही महात्वाकांक्षी योजना छन् । उनले एक हजार मूर्ति बनाएर राज्यलाई दिने सोच बनाए । २०६१ सालमा एक हजार विश्वप्रसिद्ध व्यक्तिका अर्धकदका मूर्ति बनाएर राष्ट्रलाई अर्पण गर्ने महत्वाकांक्षी योजना उनले सार्वजनिक गरे । तर, उनले आर्थिक अभावका कारण उक्त योजना पूरा गर्न सकेनन् । सरकारलाई प्रदान गर्ने मूर्ति निर्माणकै अभियानमा जुटिरहेको बेला जापानबाट विशाल मूर्ति बनाउने प्रस्ताव आएपछि आर्थिक जोहो गर्न उनी जापान पुगेका हुन् ।

पहिले पैसा र नाम कमाएपछि आफूले घोषणा गरेका प्रतिवद्धता पूरा गर्ने संकल्पसहित जापान पुगेको उनी बताउँछन् । एक हजार मूर्ति निःशुल्क सरकारलाई दिने घोषणा गरेका मञ्जुलले अहिलेसम्म करिब ४ सय मूर्ति निर्माण गरिसकेको बताए ।

श्रीमती कौशिला बराइलीको अगुवाइमा विभिन्न विभूतिका अर्धकदका मूर्ति कँुद्ने काम भइरहेकाले नेपाल फर्किएलगत्तै आकृति लगायतका काम सकेर सरकारलाई हस्तान्तरण गर्ने उनले बताए ।

‘मूर्ति बनाएर राज्यलाई हस्तान्तरण गर्ने मेरो एउटै सपना बाँकी छ,’ उनले भने, ‘यसलाई छिटै पूरा गर्छु, यसकै लागि निरन्तर संघर्ष गरिरहेको छु ।’

संसार र कलाको अन्तरसम्बन्ध

२०३७ सालमा पिता इन्द्र बराइली र माता सरिता राईको कोखबाट मोरङको टाँडीमा जन्मिएका मन्जुल संसार आफैमा सुन्दर रहेको र यसलाई झन् सुन्दर बनाउन मूर्तिहरुले ठूलो भूमिका खेलेको बताउँछन् ।

‘इतिहासका हरेक कालखण्डको विश्वासिलो साक्षी भनेकै मूर्ति हुन्,’ उनी भन्छन्, ‘प्रकृतिले सिँगारेको यस धर्तीलाई मूर्तिकारहरुले आफ्नो कला र मेहनतले अझ सुन्दर बनाएका छन् ।’

विभिन्न देशमा निर्मित मूर्तिकलाको अवस्था भिन्दाभिन्दै भए पनि समग्रमा विश्व मूर्तिकलाले इतिहासदेखि अनेक मोड पार गर्दै फराकिलो र समृद्ध स्वरुप निर्माण गरेको उनी बताउँछन् ।

‘त्यसमा एउटा सुन्दर र दरिलो इँटाको रुपमा नेपाली मूर्तिकलाले योगदान पु¥याएको छ,’ उनले भने । नेपालमा पनि व्यावसायिक मूर्तिकलाको भविष्य राम्रो हुँदै गइरहेको उनको भनाइ छ ।

उनले राष्ट्रिय गौरव र अन्तर्राष्ट्रिय महत्त्वका ऐतिहासिक मूर्तिको निर्माण गरी नेपाललाई विश्व सामु चिनाउन आवश्यक रहेको बताए ।

कलाकार मञ्जुलले राज्यले ललितकला अध्ययनका लागि कलेज सञ्चालन गरी ललितकला सम्बन्धी अध्ययन गराउन आवश्यक रहेको बताए । कलाकर्मीहरुको खोज र उत्थानका लागि आवश्यक कार्यक्रम बनाउनु पर्नेमा पनि उनले जोड दिए ।

मूर्तिकलासँगै फरक सिर्जनामा मञ्जुल

मन्जुल बराइली कला क्षेत्रमा मात्र सीमित छैनन्, साहित्य सिर्जना, गीतसंगीतका क्षेत्रमा समेत सक्रिय छन् । उनले २०७१ सालमा ‘अर्काको देशमा’ कथा संग्रह प्रकाशन गरिसकेका छन् । उनले आफ्नो लेखन तथा स्वर र संगीतमा कैयौँ गीत ल्याएका छन् । समय निकालेर उनी कविता र गीत लेख्ने काम गर्छन् । ‘थुप्रै कविता र गीत प्रकाशन गर्न बाँकी छन्,’ उनले भने, ‘नेपाल फर्किएपछि समय मिलाएर बजारमा ल्याउँछु ।’

कला र संगीत बिना मानिसको जीन्दगी अधुरो हुने उनी बताउँछन् । ‘कला, गीत र संगीतले मानव जातीलाई सुसज्जित र सन्तुष्ट बनाएको छ,’ उनले भने, ‘कला, संस्कृति बिनाको समाज कल्पनासमेत हुन सक्दैन ।’

मुख्यतया उनको दैनिकी मूर्तिकलामै बित्ने गर्छ । तर, मूर्ति कुँद्दा समेत आफ्नो अनुभव साहित्य र संगीतमा लगाउँछन् उनी । ‘प्रकृतिले दिएका सम्भावना र सिर्जनशीलतालाई सुन्दर ढंगबाट प्रस्तुत गर्दै जाँदा कहिले मूर्तिमा खोपिन्छ, कहिले कथामा बुनिन्छ त कहिले संगीतमा गुन्जिन्छ,’ उनी भन्छन् ।

यसैगरी खेल क्षेत्रमा समेत उनको विशेष रुची छ । उनी राष्ट्रिय उसु खेलाडी पनि हुन् । तथापि उनी मुर्तिकलाको क्षेत्रमै ज्यादा चर्चित र सम्मानित छन् ।

मञ्जुलको भावी योजना

मञ्जुलले नेपाली मूर्तिकलाको महिमालाई विश्वमाझ चिनाउन दुई शताब्दीमै नबनेको सबैभन्दा विशाल ढुंगाको मूर्ति बनाउन लागिपरेको बताए । उनले नेपाली ललितकलालाई विश्व माझ चिनाउन भविष्यमा अन्य नयाँ खालका सिर्जनामा लाग्ने बताए । एक हजार मूर्ति सरकारलाई दिने सपना पूरा गरेपछि आफ्नो जीवन नेपाली ललितकलाको समृद्धिमै लगाउने उनको योजना छ ।

पहरोमा बुद्धको मूर्ति बनाएको देखेर जापानीहरुले अन्य स्थानमा अझ ठूला मूर्ति बनाउन आफूलाई प्रस्ताव गरेको उनले बताए । ‘हेरौं, पहिले जारी रहेको योजना सम्पन्न गरौं, त्यसपछि राज्यलाई एक हजार मूर्ति हस्तान्तरण गर्छु । अनि अरु कुरा पछि सोचौंला,’ उनले भने । राज्यले अवसर दिए नेपालमै यस्तै महान् कार्य गर्ने योजना उनले सुनाए ।

 



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन