मनमायाको नौगेडी र सन्तानको सपना

    ७ असोज, २०७६



काठमाडौं । हरेक विवाहित महिलाको इच्छा हुन्छ, काखमा आफ्नो सन्तान खेलाउने र राम्रो पहिरन, गरगहना लगाएर अरु महिलाजस्तै सजिएर बस्ने । तर, सबैका सबै इच्छा कहाँ पूरा हुन्छन् र । सन्तान नहुँदा दम्पतीको सम्बन्धमा कस्तो तिक्तता आउँछ ? समाजले निःसन्तान दम्पतीलाई कसरी हेर्छन् ? काठमाडौंको सर्वनाम थिएटरमा मञ्चन भैरहेको नाटक ‘नौगेडी’ले त्यसको चित्रण गरिरहेको छ । 

मेलामा दोहोरी खेलेर परेको मायाप्रेमले मनमाया च्यान्टेसँग भागेर जान्छिन् । दलित दर्जी परिवारका च्यान्टेले दोहोरीमार्फत् नै मनमायालाई ‘नौगेडी’ किनिदिने वाचा गर्छन् । तर अरुको लुगाफाटो सिलाएर बिहान बेलुकाको दुई छाक टार्नै सकस च्यान्टेले विवाहको वर्षौ बितिसक्दा पनि नौगेडीको वाचा पूरा गरिदिन सकिरहेका हुँदैनन् । न त उनीहरुका सन्तान नै हुन्छ ।

 

दलित परिवारमा जन्मिएकोले छुवाछूत त छँदै थियो, निःसन्तान भएकै कारण च्यान्टे नामर्द, नालायक जस्ता अपशब्द र होच्चाइ पनि सहन बाध्य हुन्छ । यता मनमायाले पनि बाँझी महिलाको उपमा पाउँछिन् । 
नाटकमा नुवाकोट वरिपरिको ग्रामीण परिवेशलाई टपक्क टिपेर ल्याइएको छ । जहाँ सन्तान प्राप्तिको लागि दुप्चेश्वर महादेव दर्शनको लागि जानुपर्छ भन्ने विश्वास छ ।

मनमाया पनि आफ्नो सन्तान खेलाउने इच्छालाई पूरा गर्न श्रीमान् च्यान्टेलाई मन्दिर दर्शन गर्न जान हरेक दिन कर गर्छिन् । तर ग्रामीण गरिब परिवारमै हुर्के पनि च्यान्टे भने यस्तो कुरामा विश्वास गर्दैनन् । 
मनमाया हरेक दिन च्यान्टेलाई सन्तान र नौगेडीको माग गरिरहन्छिन् । दयनीय आर्थिक स्थिति भएका च्यान्टेले चाहेर पनि मनमायाको नौगेडीको इच्छा पूरा गरिदिन सकिरहेका हुँदैनन् र भोलिको आशा मनमायालाई देखाइरहन्छन् ।

श्रीमान्को खोक्रो आशाबाट आजित मनमाया एकदिन गाउँकै चिया पसले अर्जुनको उक्साहटमा फस्छिन् । यता समाज सुधारमा क्रियाशिल चन्द्रबहादुर चुनाव हारेर पनि समाजलाई रुपान्तरण गर्न हरदम कोसिस गरिरहन्छन् । 

उही चन्द्रबहादुरको माया आफ्नै श्रीमान् र बुवाबाट बेचिएकी माहिलीमा बस्छ । माया झाँगिदै गएपछि दुवै विवाह बन्धनमा बाँधिन्छन् । 

चन्द्रबहादुर र समाजबाट छिःछि र दूरदूर बेहोरेकी ‘वेश्या’सँगको विवाह समाजले स्विकार्ला ? के मनमायाको सन्तान र नौगेडीको इच्छा पूरा हुन्छ ? यी प्रश्नहरुको उत्तर थाहा पाउन सर्वनाम थिएटरको नाटकघरमा बिहिबार बाहेक असोज १२ गतेसम्म हरेक दिन मञ्चन भैरहेको नाटक नौगेडी हेर्नैपर्ने हुन्छ ।

नाटकले चन्द्रबहादुरलाई उभ्याएर भोटको लागि काम नगरी पैसाको आडमा कार्यकर्ता पाल्ने नेताहरुलाई व्यंग्य गरेको छ भने च्यान्टे र मनमायालाई उभ्याएर ग्रामिण भेगतिर आजसम्म पनि कहिँकतै कायमै रहेको छुवाछूत प्रथा, अन्धविश्वास, राजनीतिक अस्थिरता र निराशालाई प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

जात्राबाट प्रारम्भ हुने नाट्यदृश्य र घाँसे गीतले काठमाडौंमा रहेको नाटकघरलाई साँच्चै नै नुवाकोट जिल्लामा लगेको भान हुन्छ । 

पुरु लम्सालको लेखन र निर्देशन रहेको नौगेडी २०१८ मा बङ्गलादेशमा सम्पन भएको अतराष्ट्रिय नाटक महोत्सव र रारा राष्ट्रिय नाटक महोत्सव सुर्खेतमा पनि मञ्चन भैसकेको छ ।

दुई दशकदेखि नाटकमार्फत समाज रुपान्तरणको लागि कदम उठाइरहेका लम्सालले आफ्नो गाउँ र बाल्यकालदेखि टाढा भाग्न नसकेर आफ्नै जन्मथलोको कथालाई नाटकमा उतारेको बताए । स्थानीय वातावरण र गाउँले जनजीवनले मोहित गरेर आफ्नै बाल्यकालदेखि नियाल्दै आइरहेको दुप्चेश्वर मेला र त्यहाँको परिवेशलाई नाटकमा उतारेको उनी बताउँछन् । 

दुप्चेश्वर क्षेत्रको परिवेशलाई साक्षी राखी उनले सिंगो नेपाली समाजको कथालाई इङ्गित गरेका छन् ।

नौगेडीमा सुशिल सिंह ठकुरी, रीता थापा, आईपी आचार्य, वृहषमान सुनुवार, भीष्मराज जोशी, दिवाकर घिमिरे, अनामिका लामिछाने, राहुल श्रेष्ठ, अस्मिता बयलकोटी, समीर खनाल, रुवी सत्याल, जयराम तिमिल्सिनाको अभिनय रहेको छ ।



प्रतिक्रियाहरु


प्रतिक्रिया थप्नुहोस






विज्ञापन