बमजन आश्रमबाट छोरी बेपत्ता भएको भन्दै सुम्नीले पनि दिइन् जाहेरी

 सेतोपाटी संवाददाता   २ माघ, २०७५



बमजनको आश्रमबाट आफन्त बेपत्ता भएको भन्दै प्रहरीमा परेको यो पाँचौं उजुरी हो। यसअघि नुवाकोटकी गंगामाया तामाङले बहिनी, मकवानपुरका विजय रूम्बाले दिदी, मकवानपुरकै महिन्द्र वाइवाले बुवा र बाराका हस्तबहादुर आलेले छोरा बमजनको आश्रमबाट बेपत्ता भएको भन्दै जाहेरी दिएका थिए।

सुम्नीले एकपटक  छोरी रितासँगै बमजन घरमा आएर एक महिनासम्म बसेको, छोरी पछिल्लो पटक आउँदा जमिनमुनि गाडेका फोटोहरू झिकेर जलाएर गएको, त्यसपछि फर्केर नआएको जाहेरीमा उल्लेख गरेकी छन्।

जाहेरीमा भनिएको छ- फोटोहरू जलाएर गएकी छोरी अहिलेसम्म आएकी छैनन्। बरू बमजन आफैं आएर रिताबारे सोधेका थिए। बमजनकै आश्रमबाट छोरी हराएकाले खोजी पाउँ।

जिल्ला प्रहरी कार्यालयका एसपी पोषराज पोखरेलले जाहेरीमाथि अनुसन्धान भैरहेको बताए।

‘हलखोरिया आश्रमबाट हराएको भन्ने छ। हामीले यसबारे अनुसन्धान गरिरहेका छौं। सर्लाहीकै पथ्थरकोटलगायत अन्तका आश्रममा पनि हामीले रिताबारे सोधिखोजी गर्दैछौं,’ उनले भने।

रिता बोट सम्भवत: बमजनको आश्रमबाट बेपत्ता भएकी पहिलो आनी हुन्। 

उनी २०६६ अघि नै बमजनको हलखोरीयास्थित आश्रममा बस्न थालेकी थिइन्। उनको र बमजनको बीचमा गुरू र आनीको सम्बन्ध मात्र थिएन। 

परिवारका अनुसार बमजनले आफूहरूबीचमा प्रेमसम्बन्ध रहेको पनि बताएका थिए। 

२०६६ मंसिरमा रिता बमजनलाई लिएर काजीराम टोलस्थित आफ्नो घर गएकी थिइन्। आँगनसँगै जोडिएका दुईमध्ये एउटा घरको माथिल्लो तलामा बमजन र आफ्नी छोरी रिता १ महिनासम्म बसेको सुम्नीले सेतोपाटीलाई बताएकी थिइन्।

एक महिनाजति बसेर गएको तीन महिनापछि रिता एक्लै घर आएकी थिइन्। 

एक्लै आउँदा त्यसअघि आफैंले जमिनमुनि गाडेर राखेका फोटोहरू झिकेर जलाएकी थिइन्। त्यहीबेला उनले आमासँग आफूले आश्रममा धेरै यातना पाएको बताएकी थिइन्। सुम्नीका अनुसार, रिताको शरीरमा कुनै हतियारले चिरेर र कुटेर बनेका घाउ थिए।

‘शरीरभरी चिरेका घाउ र निला निला डाम थिए,’ सुम्नीले सेतोपाटीसँग भनेकी थिइन्, ‘चार/पाँच दिनपछि बमजनले नै फोन गरेर बोलायो। मैले नजा भन्दाभन्दै छोरी फर्केर आश्रम गयो।’

त्यसयता रिताको अत्तोपत्तो छैन। रिता आश्रम गएको केही समयमा बरू बमजन रिताबारे सोध्न आएका थिए।

रितालाई खोज्दै आएका बमजनले उनका दाजुलाई प्रहरीमा उजुरी नगर्न भनेका थिए। उजुरी गरे दुबैलाई अप्ठ्यारो पर्ने धम्की दिएका थिए। त्यसपछि बमजनले रिताको परिवारसँग सम्पर्क गरेका छैनन्। धम्कीकै डरले आफैं सोधिखोजी गर्ने बाहेक परिवारले प्रहरीमा उजुरी दिन गएका थिएनन्। बमजनको आश्रमबाट बेपत्ता भएका अरू आनी र चेलाका परिवारले पुसमा जाहेरी दिएको खबर सुनेपछि सुम्नीले पनि आफ्नी छोरी खोजीदिन भन्दै निवेदन दिएकी हुन्।



प्रतिक्रियाहरु

सुरेन्द्र तमांग

१० फागुन, २०७५


आरोप साबित भएको खण्डमा सजाय हुनु पर्छ | दोषीलाई कारबाही गरी पाम सरकार |


प्रतिक्रिया थप्नुहोस






विज्ञापन